बुइपामा एकदिने अन्नबाली उपचार शिविर

Halesi Khabar
0 Shares

खोटाङ, १९ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा एकदिने निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा किरा नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले एक दिने निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरेको हो ।

निःशुल्क अन्नबाली उपचार शिविरमा किसानले ल्याएका तरकारी, फलफूल, खाद्यान्न, तेलहन÷दलहन तथा नगदे बालीको नमूना परीक्षण गर्नुका साथै उपचार विधिका बारेमा किसानलाई जानकारी दिइएको छ । बाली उपचार शिविरमा विभिन्न टोलका ६२ किसानले ल्याएका धान, कोदो, सुन्तला, कागती, अमिलो, केरा, लिची, अलैँची, गोलबेँडा, सिमी, भान्टा, काउली, खुर्सानी लगायतका ६९ वटा नमूनाको परीक्षण गर्नुका साथै रोग तथा किराको उपचार विधिका बारेमा किसानलाई मौखिक तथा लिखितरुपमा परामर्श दिइएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।

रोग तथा किरा लागेका अन्नबाली तथा बोटबिरुवाको नमूनालाई प्लान्ट डाक्टरको तालिम लिएका कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामानन्द यादव र कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले किसानलाई आवश्यक परामर्श दिनुभएको छ । शिविरमा सहभागी किसानलाई एजाडिराक्टिङ नामक किटनाशक विषादिसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

शिविरमा हाल किसानको खेत र बारीमा लगाइएका सबै खालका अन्नबाली, सागसब्जी, फलफूल बोटबिरुवा र अन्य वनस्पतीको नमूना परीक्षण एवम् उपचार गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले बताउनुभयो । “नमूना परीक्षणका क्रममा कुन बाली कति क्षेत्रमा लगाएको, रोग कहिले शुरु भएको, रोगले केमा असर गरेको, हाल बिरुवाको अवस्था के छ भन्ने सोधपुछ गरिएको छ”, उहाँले भन्नुभयो, “बालीनालीमा रोग लागेको हो वा किरा लागेको पत्ता लगाएर त्यसको उपचार गर्ने विधिका बारेमा किसानलाई मौखिक र लिखितरुपमा परामर्शसमेत दिइएको छ ।”

नगरपालिकामा ‘अर्गानिक’ अभियान चलिरहेकाले शिविरमा आएका किसानलाई जैविक विधिलाई प्राथमिकता दिएर बालीनालीको उपचार गर्नका लागि सुझावसमेत दिइएको वडाध्यक्ष राईले बताउनुभयो । पन्ध्र वडा रहेको उक्त नगरपालिकालाई पाँच वर्षभित्र अर्गानिक बनाउनेगरि अभियान थालिएको छ ।

तपाईको प्रतिक्रिया