खोटाङ, २६ असोज । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहार लगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९ औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एकठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामुहिकरुपमा भिडभाड नगरी आ–आफ्नो घरका सदस्यमात्र सहभागी भएर चाडवाड मनाउन आग्रह गरेको हो ।
कोरोना भाइरसको सङक्रमणबाट बच्न र बचाउन आसन्न दशैँ, तिहार लगायतमा एक ठाउँमा भेला नहुन र चहलपहल नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो । बैठकले नेपाल सरकारको कोभिड–१९ सम्बन्धी नियमको पालना गर्दै विभिन्न खेलकुद, धार्मिक मेला, भिडभाडकाबीचमा गरिने कार्यक्रम, भेला जस्ता ‘मास मुभमेन्ट’मा सञ्चालन हुने गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयलाई कोभिड–१९ को सङ्क्रमणबाट बच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएका स्थानीयलाई क्वारेन्टिन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सिर्जनात्मक तरिकाले सचेतनामूलक अभियान सञ्चालन गर्न हरेक स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख चाम्लिङले बताउनुभयो । यस्तै, आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि अनुसार आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने, जिल्ला बाहिरबाट आउने जोसुकै व्यक्तिलाई अनिवार्य पिसिआर परीक्षण गरेर मात्र आउन अनुरोध गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६, हलेसी तुवाचुङ नगरपालिकामा चार, खोटेहाङ गाउँपालिकामा चार, जन्तेढुङ्गा गाउँपालिकामा दुई तथा बराहपोखरी, साकेला, दिप्रुङ चुइचुम्मा र ऐसेलुखर्क गाउँपालिकामा एक÷एक जनागरी सङ्क्रमितको सङ्ख्या ३० पुगेको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको रावाबेँसी र केपिलासगढी गाउँपालिकामा अहिलेसम्म सङ्क्रमित भेटिएका छैनन् । सङ्क्रमितमध्य २१ जना उपचारपछि घर फर्किसकेका छन् भने, नौँ जना जिल्लामै निर्माण गरिएका आइसोलेशनमा उपचाररत रहेका छन् ।
उपचाररत व्यक्तिमा अहिलेसम्म कुनै समस्या नदेखिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयो । जिल्लामा अहिलेसम्म एक हजार ७५१ जनाको पिसिआर परीक्षण गरिएको जनाइएको छ ।