खोटाङ, २७ असोज । नेपालमा सञ्चालन भइरहेको यलम्बर सँगीत प्रतियोगिताका विजेतालाई हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी गराइने भएको छ । किराँत राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय समितिले आयोजना गरेको यलम्बर सँगीत प्रतियोगिताको छैटौँ सँस्करणका विजेतालाई हङकङमा सञ्चालन हुने एलम्बर साँझमा प्रस्तुती गर्ने अवसर दिइने भएको हो ।
हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किराँत राई यायोक्खा हङकङले नेपालमा सञ्चालन भइरहेको यलम्बर सँगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतीका लागि लैजाने निर्णय गरेको किराँत राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र साम्पाङ राईले बताउनुभयो । किराँत राई यायोक्खा हङकङले यलम्बर सँगीत प्रतियोगिताका लागि दोस्रो पुरस्कारसमेत प्रायोजन गरिदिएको छ ।
किराँत राई कलाकार सङ्घको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदैआएको यलम्बर सँगीत प्रतियोगिता यसपल्ट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरका कारण अनलाईनमार्फत सञ्चालन भइरहेको छ । विश्वव्यापी रुपमा सञ्चालन गरिएको यलम्बर सँगीत प्रतियोगितामा पहिलो अडिसनबाट दश देशका २१३ जना प्रतिस्पर्धीमध्येबाट ५० जना प्रतियोगी छनोट भएका छन् ।
आगामी शनिबार हुने दोस्रो अडिसनबाट ३० जना प्रतिष्पर्धी छनोट गरिने प्रतियोगिताका प्रचार विभाग संयोजक एवम् गायक तथा सँगीतकार पदम थुलुङले जानकारी दिनुभयो । प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो ।
प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो तथा दर्शकले रुचाएका उत्कृष्ट एक जना प्रतियोगीले क्रमशः रु ३० हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्ने जनाइएको छ । किराँती इतिहास, मौलिकता, भाषा, सँस्कार–सँस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार सङ्घले यलम्बर सँगीत प्रतियोगिता शुरु गरेको हो ।
यसअघि आयोजना गरिएको प्रतियोगितामा सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्बिका राईले पहिलो उपाधि हात पारिसकेका छन् । प्रतियोगितामा किराँत राई समुदायका प्रतिभाले मात्र सहभागिता जनाउन पाउने व्यवस्था छ भने, सहभागीले किराँती विषयमा सम्बन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने कलाकार सङ्घका केन्दीय अध्यक्ष रामकर राईले बताउनुभयो ।