खोटाङ, ३ कातिक । उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ । वर्षा, आगलागी, सडक दुर्घटना जस्ता विपत्तिबाट पीडित भएका तीन जना व्यवसायीलाई वाणिज्य सङ्घले सोमबार राहत रकम प्रदान गरेको हो ।
वर्षाका कारण घरमा क्षति पुगेका व्यवसायी जागिरमान विश्वकर्मा र सुधिर शाक्यलाई रु २५÷२५ हजार र बोलेरो दुर्घटनामा सामान गुमाएर क्षति बेहोरेका गयकुमार बजिमयलाई रु दश हजार प्रदान गरिएको सङ्घका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पीडित व्यवसायीलाई सङ्घले राहत बापत चेक हस्तान्तरण गरेको छ ।
वाणिज्य सङ्घको तर्फबाट यस आर्थिक वर्षको कातिक मसान्तसम्ममा प्राकृतिक विपत्ति तथा दुर्घटनाको मारमा परेका व्यवसायीलाई रु एक लाख ५५ हजार राहत प्रदान गरेको सङ्घका महासचिव मनोज बजिमयले जानकारी दिनुभयो । यसअघि बोलेरो दुर्घटना हुँदा क्षति पुगेका व्यवसायी फुर्वा शेर्पालाई रु दश हजार, आगलागी पीडित गोबिन्द कटवाललाई रु २० हजार र रोशन शैंजुलाई रु २५ हजार तथा ट्रक दुर्घटना बेहोरेका हिराकाजी खत्रीलाई रु ४० हजार राहत प्रदान गरिएको जनाइएको छ ।
वाणिज्य सङ्घले स्थापना गरेको राहत कोषमा सङ्घका पदाधिकारीले वार्षिक रुपमा जनही रु ५०० राहत कोषमा जम्मा गर्ने र पीडित व्यवसायीलाई प्रदान गर्ने व्यवस्था गरेको छ । राहत हस्तान्तरण कार्यक्रममा वाणिज्य सङ्घका पूर्व अध्यक्ष राजेन्द्र लयालु, सङ्घका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।