धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकिर्तन गर्न प्रशासनद्धारा रोक

Halesi Khabar
0 Shares

खोटाङ, ५ कात्तिक । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न धर्मावलम्बीको धार्मिकस्थलमा हुने पूजा, प्रार्थना तथा भजनकिर्तन गर्न रोक लगाएको छ । दशैँतिहार तथा छट पर्वको अवसरमा मठ, मन्दिर, शक्तिपिठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा भिडभाड हुँदा सङ्क्रमण फैलिने जोखिम देखिएको भन्दै प्रशासनले धार्मिकस्थलमा पूजा, प्रार्थना, भजनकिर्तन, रथयात्रा, कलसयात्रा, बलीपूजा, मूर्ति विसर्जन लगायतका क्रियाकलाप गर्नमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको सूचनामा मठ, मन्दिर, शक्तिपिठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा नित्य पूजाआजा बाहेक भिडभाडकाबिचमा गरिने धार्मिक क्रियाकलाप नगर्न आग्रह गरिएको छ । यस्तै, चाडपर्वको अवसरमा सामुहिकरुपमा भेला, जम्मा भइ गरिने शुभकामना आदान–प्रदान, चियापान जस्ता कार्य नगर्न, सामुहिकरुपमा कार्यक्रम आयोजनागरि गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, समूहमा खेलिने खेलकुद, खेलमैदानमा हुने प्रस्तुति जस्ता कार्यक्रम नगर्न सूचित गरिएको छ ।

प्रशासनले दशैँतिहार, छठ जस्ता चाडवाडलाई घरैमा बसी परिवारभित्र मात्र मनाउन, जिल्लाभरी साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी साधन बाहेकका यातायात सञ्चालन नगर्न, हिँडडुल र बजार बन्द गर्न भनेको छ । यस्तै, आवत–जावत तथा हिँडडडुल गर्दा सबै यात्रु तथा चालक सह–चालक एवम् सवारीधनीले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जारी भएको सार्वजनिक यातायात सञ्चालन निर्देशिका बमोजिम सवारीमा सवार गर्ने तथा सवारी साधन सञ्चालन गर्ने, शैलुन, ब्यूटीपार्लर हाललाई सञ्चालन नगर्न भनिएको छ ।

गृह–मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर १ बिराटनगरबाट प्राप्त निर्देशन अनुसार स्वास्थ्य सुरक्षा सतर्कता बारे सूचना जारी गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण दर बढिरहेका बेला जिल्लामा स्वास्थ्य सुरक्षा सावधानी भने घटिरहेको पाइएको छ ।

मास्कको प्रयोग, भौतिक दूरी कायम गर्नेमा सर्वसाधारणदेखि प्रतिष्ठित व्यक्ति चुकिरहेका छन् । हिजोआज विशेषगरी हाटबजार तथा राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लङ्घन भइरहेको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया