अग्नीपीडित मगर परिवारलाई गाउँपालिकाको आर्थिक सहयोग

Halesi Khabar
0 Shares

खोटाङ, २९ कात्तिक । जन्तेढुङ्गा गाउँपालिकाले अग्नीपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते भएको आगलागीमा करीब रु दश लाख बराबरको धन सम्पत्ती गुमाएका वडा नम्बर–६ दिप्लुङ सोभेका विश्वराम मगरलाई गाउँपालिकाले राहत स्वरुप रु २५ हजार आर्थिक सहयोग गरेको हो ।

अग्नीपीडित परिवारलाई शुक्रबार गाउँपालिकामै बोलाएर राहत रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शंकर राईले बताउनुभयो । अग्नीपीडितको सहज जीवन–यापनमा सहयोग पु¥याउनका लागि गाउँपालिकाले राहत रकम प्रदान गरेको हो ।

अग्नीपीडितलाई गाउँपालिका अध्यक्ष राईले रकम हस्तान्तरण गरेका छन् । अग्नीपीडित परिवारलाई केही दिनअघि मात्र खोटाङ प्राकृतिक सहयोग कोषले राहत स्वरुप रु दश हजार प्रदान गरेको थियो । रातको २ बजे गोठबाट सल्किएको आगोले मगरको घरसहित एक वटा भैँसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाइते भएका थिए ।

आगोमा जलेका भैँसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको थियो । घर जलेपछि मगरका ९ जनाको परिवार हाल फगतपुरमा रहेको अर्को आफ्नै घरमा बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया