स्थानीय तहका जनप्रतिनिधिको तिहार

Halesi Khabar
0 Shares

खोटाङ, ३० कात्तिक । तिहार भनेपछि मान्छेको मनमा एउटा उमङ्ग आउँछ । यस्तै उमङ्गताले मान्छेको मन फुरुङ्ग हुन्छ । तर, यसपाली सँधैको जस्तो तिहार नहुने स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

खोटाङको दश स्थानीय तहका जनप्रतिनिधिहरुले पहिले पहिलेको जस्तो यसपटकको तिहार नुहने बताएका हुन् । कोरोना कहरका कारण यसपटकको तिहारमा गाउँगाउँमा रमझम नहुने उनीहरुको भनाइ छ ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ भर्खरै कोरोना सङ्क्रमणबाट मुक्त भएपनि उहाँको आमाको भर्खरै निधन भएपछि तिहार रोकिएको छ । शोकमा रहेको राईले यसपाली दशैँ र तिहार खास मनाउन पाउनुभएन ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलमा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले तिहार आफ्नै घर नेर्पामा मनाउँदै हुनुहुन्छ । कोरोना सङ्क्रमणको जोखिम रहेको नगरपालिकामा तिहारको खास रमझम नहुने रिजालले बताउनुभयो । उहाँको तीन बहिनी चेलीमध्ये दुई जना चेलीको हातबाट भाइटीका लगाउने हुनुभएको छ ।

यस्तै यहि नगरपालिकाका उपप्रमुख विणादेवी राईले आफ्नै माइतिघरमा तिहार मनाउने हुनुभएको छ । उहाँका दुई भाइ माइती छन् । एकजना विदेशमा भएकाले एकजना भाइ र तिप्पा (ठैलो बुबा)को छोरालाई फूल लगाएर उहाँले तिहार मनाउने हुनुभएको हो ।

खोटाङ जिल्लाको अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकाको नगरप्रमुख ईवन राई भने तिहार मनाउन काठमाडौँ जानुभएको छ । उहाँको तीन बहिनी चेली रहेकोमा दुईजनाको हातबाट टीका लगाउने हुनुभएको छ । एकजना चेलीसँग नौँ वर्षपछि र अर्का चेलीसँग पाँच वर्षपछि भाइटीका लगाउन लागेको उहाँले बताउनुभयो ।

यस्तै नगर उपप्रमुख विमला राईले भने आमाजु दिदीको हातबाट टीका लगाएर तिहार मनाउने हुनुभएको छ । उहाँले दिक्तेल बजारमा आमाजु दिदीको आफ्नै घरमा तिहार मनाउने हुनुभएको हो । माइतीमा भने अरु दिदीबहिनीहरुले उहाँका माइतीहरुलाई टीका लगाइ दिने भएका छन् ।

यस्तै ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाको तिहार आफ्नो गाउँ माक्पामै बित्ने भएको छ । आफ्नो चेली नआउने भएपछि गाउँमा अरुकै हातबाट उहाँले भाइटीका लगाउने हुनुभएको छ । उपप्रमुख पुष्पकला भुजेलले पनि आफ्नो गाउँ ऐसेलुखर्क वायाङमा माइतीहरुलाई टीका लगाइ दिएर तिहार मनाउने हुनुभएको छ ।

रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौलाको तिहार पनि गाउँमै हुने भएको छ । उहाँको एकजना चेली मधेसतिर भएकाले अरुकै हातबाट टीका लगाएर तिहार मनाउने हुनुभएको हो । उपप्रमुख समला राईले भने माइती घर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा माइतीहरुलाई टीका लगाएर तिहार मनाउने हुनुभएको छ ।

यसैगरी केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईको पनि तिहार गाउँमै हुने भएको छ । उहाँको बुबाको निधनको कारण उहाँले खास तिहार रमाईलो गरी मनाउन नसकिने बताउनुभएको छ । उपप्रमुख हीराकुमारी वनको पनि तिहार यस पटक नुखुल्ने भएको छ । उहाँको परिवारमा काका ससुराको मृत्यु भएकाले तिहार नखुलेको हो ।

साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले पनि खास तिहारको रौनक नुहने बताउनुभएको छ । उहाँको चेली तराईतिर रहेकाले पनि खास गाउँमा रमाईलो नहुने बताउनुभएको छ । कोरोना कहरमा जोखिमबाट जोगिएर तिहार मनाउन उहाँको आग्रह छ । उपप्रमुख सरिता खड्काले पनि जुठो परेकाले तिहार नमाइने बताउनुभएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले फुपूको हातको टीका लगाएर तिहार मनाउने हुनुभएको छ । उहाँका तीन चेलीहरु जिल्लाबाहिर भएकाले उहाँले फुपूको हातबाट टीका लगाउने हुनुभएको हो । यस्तै उपप्रमुख सपना राईले आफ्ना दुई भाइ माइतीमध्ये एकजना विदेश भएकाले एकभाइलाई टीका लगाएर तिहार मनाउने जानकारी दिनुभएको छ ।

खोटेहाङ गाउँपालिका प्रमुख प्रदिपकुमार राईले एकजना चेली दुखमा परेकाले दुईजना चेलीहरुसँग तिहार मनाउने जानकारी दिनुभयो । कोरोना कहरका कारण अफ्ठ्यारो परिवेशमा तिहार मनाउन लागेको उहाँको भनाइ छ ।

यस्तै उपप्रमुख कविता राईको भने तिहार काठमाडौँमा हुने भएको छ । उहाँले आफ्ना पाँच जना माइतीहरु रहेको र सबैसँग रमाईलो गरेर तिहार मनाउने सुनाउनुभयो ।

जन्तेढुङ्गा गाउँपालिका प्रमुख शंकरबहादुर राईको तिहार पनि गाउँमै बित्ने भएको छ । चेलीमाइती भेटेर रमाईलो गरिने चाडमा आफूसमेत रमेर मनाउने उहाँको भनाइ छ । उपप्रमुख विमला राईपनि गाउँमै तिहार मनाउने हुनुभएको छ ।

यस्तै बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराको तिहार भने खल्लो हुने भएको छ । उहाँको बहिनी ज्वाइँको निधन भएकाले उहाँ भने तिहारको बेला ज्वाइँको ४५ दिने कार्यका लागि मधेस झर्दै हुनुहुन्छ ।

उपप्रमुख गोमा मगरले भने तिहार घरमै मनाउने बताउनुभएको छ । तीनजना माइती भएका उहाँले दुईजनालाई फूलटीका लगाइ दिने बताउनुभयो । एकजना माइती भने काठमाडौँमा भएकाले छुटेको उहाँको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया