खोटाङ, ३ मङ्सिर । अधिक रक्तश्रावका कारण सिकिस्त बिरामी पर्नुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकोप्टरबाट उद्दार गरिएको छ । सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना हुनुभएकी कविताको उपचार सम्भव नभएपछि थप उपचारका लागि आज (बुधबार) नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरेर राजधानी काठमाडौँ पठाइएको हो ।
सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक रक्तश्राव भएपछि सिकिस्त बिरामी पर्नुभएकी कवितालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले काडमाठौँको थापाथलीस्थित प्रसुतिगृह रेफर गरिएको अस्पतालका मेडिकल अधिकृत डा. मनिष पौडेलले बताउनुभयो । “कविताको शरीरबाट धेरै ब्लड गएको छ”, उहाँले भन्नुभयो, “उहाँलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले हाम्रो अस्पतालमा उक्त आइसियु नभएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको हो ।”
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टरबाट उद्दार गरिएकी कविताको काठमाडौँ पु¥याउनासाथ उपचार शुरु भएको आफन्तले बताएका छन् । कविताको गर्भमा रहेका बच्चाको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्दार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएपछि जिल्लाका आधा दर्जनबढी महिलाको उद्दार गरिसकिएको छ । यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी), जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राई, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी सिर्जना तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विश्वकर्मा लगायतको उद्दार गरिएको थियो ।
दश स्थानीय तह रहेको जिल्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु हुनुअघि चर्को मुल्यमा नीजि हेलिकोप्टर चार्टर गरेर उपचारमा पठाउनुपर्ने बाध्यता थियो । नेपाल सरकारले उक्त कार्यक्रम शुरु गरेर निःशुल्क सेवा दिन थालेपछि गरिब परिवारका महिलाले पनि अकालमा ज्यान फाल्नुपर्ने बाध्यता हटेको छ ।