विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई कृषि सामग्री

Halesi Khabar
0 Shares

खोटाङ, ४ मङिसर । कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको अवस्थामा कोरोना भाइरसको महामारी फैलिएपछि रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई आफ्नो गाउँमै बसाएर कृषि पेशामा आवद्ध गराउने उद्देश्यका साथ नगरपालिकाले कृषि सामग्री उपलब्ध गराएको हो ।

विभिन्न देशबाट फर्किएका नगरपालिकाभित्रका १०० जना युवालाई बिहिबार व्यवसायिक कृषि खेती गर्दा आवश्यक पर्ने विषादीसहित थोपा सिचाईँ सेट, आ.ई.एम. सामग्री, सिलपौलिन प्लाष्टिक टनेल लगायतका सामग्री उपलब्ध गराइएको नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो । नगरपालिकाको १५ वटै वडा कार्यालयबाट सिफारिस भएर आएका युवालाई स्वीस सरकार अन्तरगत हेल्भेटासको आर्थिक सहयोगमा कृषि सामग्रीका साथै तालिमको व्यवस्थासमेत गरिएको छ ।

परम्परागत रुपमा गरिँदै आइएको कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरण गर्न नगरपालिकाको तर्फबाट कृषक तथा कृषक समूहलाई अनुदानसमेत दिने व्यवस्था गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “वैदेशिक रोजगारीका लागि युवा पुस्ता विदेशिनेक्रम बढेसँगै खेतीयोग्य जमिन बाँभिएका छन्”, उहाँले भन्नुभयो, “जनशक्ति अभावमा वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक खेती गर्ने युवालाई नगरपालिकाको तर्फबाट अनुदानसमेत दिने व्यवस्था गरिएको छ ।”

नगरपालिकाले हरेक वडाको खेतीयोग्य जमिनको माटो परीक्षण गरेर उपयुक्त किसिमको कृषि खेती गर्ने तयारी गरेको जनाइएको छ । यसका लागि प्रत्येक वडालाई यहि मङ्सिर ६ गते माटो परीक्षण मेसिन प्रदान गरिने नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।

नगरपालिकाले कृषक तथा कृषक समूहलाई बाख्रा पालनका लागि उन्नत जातको बोयर बोका, च्याउ खेतीका लागि बीउ, फलफूल खेतीका लागि सुन्तला तथा कागतीको बेर्ना, गोलभेडा खेतीका लागि प्लाष्टिक टनेल लगायत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले कृषि सामग्री उपलब्ध गराउनुका साथै तालिमसमेत दिन थालेपछि युवा पुस्ता कृषि पेशाप्रति आकर्षित हुँदै गएका छन् ।

हरेक वडामा फरक–फरक कृषि उत्पादनको पकेट क्षेत्र बनाउने अभियानमा लागेको नगरपालिकाले वडा नम्बर–२ सोल्मामा प्राङ्गारिक मल उद्योग तथा बायोग्याँस प्लान्टसमेत सञ्चालनमा ल्याएको छ । पाँच वर्षभित्र अर्गानिक नगर बनाउने अभियान शुरु गरेको नगरपालिकाले दिक्तेल बजार तथा आसपासको क्षेत्रमा उत्पादित फोहरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको हो ।

अर्थमन्त्रालयको विशेष अनुदान वापतको रु तीन करोड ३२ लाखको लागतमा एकैठाउँमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । रिजालका अनुसार मेसिन तथा औजार खरिदमा रु एक करोड १७ लाख र ट्रस भवन लगायतका संरचना निर्माणमा रु ३९ लाख खर्च भएको छ ।

वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री सङ्कलन गरेर प्रशोधन गर्दै प्रति घण्टा एक हजार केजी कम्पोष्ट मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताउनुभयो । प्राङ्गारिक मल उद्योग तथा ग्याँस प्लान्ट स्थापना गर्न कार्यपालिका सदस्य विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया