हलेसी न्यूज डेक्स
खोटाङ, ५ मङ्सिर । खोटाङ जिल्लामा रहेर लामो समय नेपाल उद्योग वाणिज्य सङ्घमा बिताएका राजु लयालुले आसन्न नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औँ महाधिवेशनमा उहाँले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घको तर्फबाट निर्वाचन लड्ने हुनुभएको हो ।
आउँदो मङ्सिर ११, १२ र १३ गते हुन गइरहेको महाधिवेशन लयालुसँगै सो पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ । पहाडी तथा दुरदराजमा रहेको उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै उहाँले मनोनयन गरेको हलेसी खबरलाई जानकारी दिनुभयो ।
उद्योगी व्यवसायीहरुले विसुद्ध नाफामात्रै नभएर समाजिक सेवा समेत गरिरहेको बताउदै उनले संकटबेला सहयोग समेत दिँदै आएको सुनाए । आफुले खोटाङ उद्योग वाणिज्य संघमा लामो समय २५ बर्ष लामो अनुभवका आधारमा नेपालको अधिकासं पहाडी तथा दुर्गम जिल्लाका व्यवसायीले भोग्नु परेको समस्याहरुलाई उजागर गर्ने वाणिज्य महासंघको केन्द्रिय सदस्यमा दावि गरेको बताएका छन् ।
राज्यको अर्थतन्त्रलाई सबैभन्दा बढी टेवा दिने नीजि क्षेत्रलाई सरकारले बेवास्ता गर्दै आएको भन्दै अहिलेको दोहोरो व्यवसायिक दर्ता प्रकृया, कर प्रणाली, भन्सार छुट जस्ता कुराहरुमा सरकारले सुधार गर्नुपर्ने, कोभिडका कारण थलिएका नीजि क्षेत्रलाई राहत महशुस हुने किसिमको कार्यक्रमहरु आउनु पर्ने जस्ता थुप्रै मागहरु रहेको बताउनुभयो । बैङ्क तथा वित्तीय क्षेत्रले दिने सेवा सुविधाका विषयमा समेत लबिङ गरिनुपर्ने, सुदुर गाउँ बस्तीहरुमा पिठ्यूँमा बोकेर पनि व्यवसायीहरुले सेवा प्रवाह गरिरहेकाहरुलाई अझै व्यवसायिक बनाउँन प्रेरित गरिनुपर्ने उहाँको भनाइ छ ।
वाणिज्य सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका उहाँले आफ्नो उम्मेदवारी अन्य प्रतिस्पर्धी साथीहरुको भन्दा फरक रहेको र आफूले दुरदराजबाट व्यवसायीहरुको हित प्रर्वद्धनमा गरेको कार्यहरुको समेत राम्रो अनुभव रहेकाले निर्वाचनमा आफूले बाजी मार्ने विश्वास व्यक्त गर्नुभयो । डोकोमा समान बोकेर व्यवसाय गर्नु कति कठिन छ भन्ने अनुभव आफूसँग रहेको बताउनुहुँदै लयालुले भन्नुभयो, “अब राज्यले यस्ता किसिमको अवस्थाबाट फड्को मार्नु पर्ने छ ।”
लयालुले महासङ्घको ५४ महाधिवेशनमा खोटाङबाट केन्द्रीय सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएपछि वाणिज्य सङ्घले चुनावी अभियान शुरु गरेको छ । जिल्ला कार्यसमिति खोटाङले शुक्रबार दिक्तेल बजारस्थित होटल इन्द्रेणीमा एक कार्यक्रमको आयोजना गरेर अभियानको शुरुवात गरेको हो ।