सोल्मामा कृषि तथा पशु प्रयोगशाला स्थापना

Halesi Khabar
0 Shares

खोटाङ, ६ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डिजिटल सोयल टेस्टिङ मिनि ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ । नगरपालिकाको रु चार लाख ९६ हजारको लागतमा ले वडा नम्बर–२ सोल्मास्थित प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनि ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो ।

ल्याब स्थापना भएपछि महिना दिनसम्म लगाएर खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ । सोल्मामा स्थापना गरिएको ल्यामार्फत ४८ घन्टामै परीक्षणको रिपोर्ट आउने जनाइएको छ ।

पशु क्षेत्रतर्फ कृतिम गर्वधारण, पशुपञ्क्षीको स्वास्थ्य परीक्षण लगायतका काम ल्यालबाट नै प्रवाह हुने भएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाले शनिबार नै नगरभित्रका १५ वटै वडा कार्यालयलाई रु चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई कृषि सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको अवस्थामा कोरोना भाइरसको महामारी फैलिएपछि रोजगारी गुमाएर जन्मथलो फर्किएका १०० जना युवालाई कृषि पेशामा आवद्ध गराउने उद्देश्यका साथ कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरपालिकाले व्यवसायिक कृषि खेती गर्दा आवश्यक पर्ने विषादीसहित थोपा सिचाईँ सेट, आ.ई.एम. सामग्री, सिलपौलिन प्लाष्टिक टनेल लगायतका सामग्री उपलब्ध गराएको छ । नगरपालिकाको १५ वटै वडा कार्यालयबाट सिफारिस भएर आएका युवालाई स्वीस सरकार अन्तरगत हेल्भेटासको आर्थिक सहयोगमा कृषि सामग्रीका साथै तालिमसमेत दिइएको कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो ।

परम्परागत रुपमा गरिँदै आइएको कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरण गर्न नगरपालिकाको तर्फबाट कृषक तथा कृषक समूहलाई अनुदानसमेत दिने व्यवस्था गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “वैदेशिक रोजगारीका लागि युवा पुस्ता विदेशिनेक्रम बढेसँगै खेतीयोग्य जमिन बाँभिएका छन्”, उहाँले भन्नुभयो, “जनशक्ति अभावमा वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक खेती गर्ने युवालाई नगरपालिकाको तर्फबाट अनुदानसमेत दिने व्यवस्था गरिएको छ ।”
नगरपालिकाले कृषक तथा कृषक समूहलाई बाख्रा पालनका लागि उन्नत जातको बोयर बोका, च्याउ खेतीका लागि बीउ, फलफूल खेतीका लागि सुन्तला तथा कागतीको बेर्ना, गोलभेडा खेतीका लागि प्लाष्टिक टनेल लगायत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले कृषि सामग्री उपलब्ध गराउनुका साथै तालिमसमेत दिन थालेपछि युवा पुस्ता कृषि पेशाप्रति आकर्षित हुँदै गएका छन् ।

 

 

तपाईको प्रतिक्रिया