सबैभन्दा बढी कर दाखिला गरेकामा सालपा विकास बैङ्कलाई सम्मान

Halesi Khabar
0 Shares

खोटाङ, ७ मङ्सिर । सालपा विकास बैङ्कलाई जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाताकारुपमा सम्मान गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा खोटाङबाट सबैभन्दा बढी कर दाखिला गरेकामा उक्त बैङ्कलाई आन्तरिक राजस्व कार्यालय लहानले कदर स्वरुप सम्मान गरेको हो ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन ः विकास, सम्वृद्धि र सुशासन’ भन्ने नारासहित करदाता सेवा कार्यालय खोटाङले आयोजना गरेको ९ औँ राष्ट्रिय कर दिवस समापन कार्यक्रममा उक्त बैङ्कलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । दिक्तेलस्थित करदाता सेवा कार्यालयको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बैङ्कका विभागीय प्रमुख दिपकर राईलाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।

विगतका वर्ष विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाउने गरिएकामा यस वर्ष कोभिड–१९ को महामारीका कारण धुमधामका साथ कार्यक्रम गर्न नसकिएको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले बताउनुभयो । कोरोना महामारीका कारण यसपल्ट सञ्चार माध्यमबाट सूचना तथा शुभकामना सम्प्रेषण, फोनमार्फत सरोकारवालासँग अन्तरक्रीया मात्र गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले ‘करलाई रहर’ बनाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ पौडेलले सबैभन्दा बढी कर तिर्नेलाई भन्दा पनि आफ्नो आयव्याय विवरण नलुकाई पारदर्शीढङ्गले ट्याक्स तिर्ने करदातालाई समेत प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राई, नेपाल अडिटर्स एसोसियसनका जिल्ला अध्यक्ष डोरनाथ आचार्य, सालपा विकास बैङ्कका विभागीय प्रमुख राई लगायतले शुभकामना दिनुभएको थियो । दिक्तेलमा २०७५ साल चैत २८ गतेदेखि करदाता सेवा कार्यालयले सेवा शुरु गरेको हो ।

जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ को लहान पुग्नुपर्ने बाध्यता हटेको छ । दिक्तेलस्थित पुरानो बैङ्कचोकमा रहेको कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मुल्य अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर सङ्कलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया