लघु साहित्य : दुई बटुवाको कथा

Halesi Khabar
0 Shares

ईन्दिरा चाम्लिङ

एकादेशमा एउटा ठूलो जंगल थियो । त्यहाँ धेरै जनावरहरू, चरा चुरंगीहरू बस्थे । जंगलको बीचमा फराकिलो मूलबाटो थियो । भुईको धूलो आकाशतिर उडाउदै हतारहतार घोडाकै तालमा कुधे जसरी बटुवाहरू मूलबाटोमा ओहोर, दोहोरो गरिरहेका हुन्थे ।

त्यो मूलबाटोमा हिंड्दाहिंड्दा थकित भएका बटुवाहरूलाई बिसाउनको लागि माझा जंगलमा भएपनि बाटैमा ढुंगाको चौतारी बनाइएको थियो । त्यो चौतारी नजिकै दुई वटा निकै ठूलाठुला ढुंगे धाराहरू थिए। ती धाराहरूमा हिउँ पग्लिएर बगेको झरनाको पानी जस्तै चीसो र सफा पानी अविरल रूपमा बगिरहन्थ्यो । ती दुबै धाराको पानी बग्दै गएर नजिकैको सुन्दर पोखरीमा पुग्थ्यो । जहाँ रंगीबिरंगी कमलका फूलहरू फुलिरहेका हुन्थे भने पोखरीको डिलडिलमा सिस्नुका फूलहरू फुलिरहेका हुन्थे । विभिन्न रूपका, विभिन्न रंगका चराचुरूंगीहरू पानी पिएर प्यास मेटाइरहेका हुन्थे ।

पोखरी वरिपरि ठूलाठूला रूखहरू थिए । ती रूखका हाँगामा बसेर कोइली चरीहरू मीठो स्वरमा कुहुँकुहुँ कराइरहेका हुन्थे। कोइलीको स्वरमा स्वर खाप्दै अरू विभिन्न प्रकारका चरीहरू पनि चिरबिर चिरबिर कराउँथे । त्यो सुमधुर अावाज र त्यो सुन्दर दृश्यले थकित बटुवाहरूलाई अद्भूत आनन्दको अनुभूति हुन्थ्यो । उनीहरूले यात्रामा भोग्नु परेको दु:ख, कष्ट सबै बिर्सिएर मन चंगा झै उडेको र आफू स्वर्गमा पुगेको झै अलौकिक आनन्दको अनुभूति गर्थे ।
एकदिनको कुरा हो, त्यो मूलबाटोमा दुई जना नयाँ बटुवाहरू फटाफट हिंडिरहेका थिएँ । यसरी हिंड्ने क्रममा उनीहरूले जंगलको माझमा सुन्दर पोखरी, चौतारी र धारा भटे। निकै लामो यात्राले उनीहरू थाकिसकेका थिए । भोक, प्यास पनि लागिरहको थियो । जब उनीहरू आफूले कल्पना नै नगरेको, सपनामा पनि नदेखेको यति रमणीय स्थानमा पुगे, उनीहरूले भोक, प्यास र थकाई सबै भुले अनि केही बेरको लागि भएपनि बिसाएर रमाउन थाले ।

दुई बटुवाहरू मध्य एकजना एकदमै लोभी थियो । एकजना निकै दानी थियो । लोभी बटुवालाई पोखरीमा फुलेका ती कमलका फूलहरू देखेर साह्रै लोभ लाग्यो । लोभी बटुवाले एउटा मात्रै होइन ती साराका सारा फूलहरू टिपेर आफ्नो घर लाने ईच्छा दानी बटुवालाई सुनायो । दानी बटुवाले लोभी बटुवालाई धेरै सम्झायो । ” यो कुरा असम्भव छ । पोखरी धेरै गहिरो छ । कमलको फूल टिप्न पोखरीमा पस्दा हिलोमा फस्न पनि सकिन्छ । ज्यानै जोखिममा पारेर फूल टिप्नु गलत हो । कमलको फूल यही पोखरीमा सुहाएकी छ । फेरि यी सारा कमलहरूलाई टिपेर लगी सजाएर राख्ने पोखरी पनि छैन । तिमीलाई बरू म मेरो बगैचाको सबै फूलहरू दिन्छु । मसँग तिमीलाई मनपर्ने कमल पनि छ त्यो पनि दिन्छु । तिमी यो कमल यहीं छोड । यहीं यसैगरी फुल्न देऊ । हामी बरू सिस्नुको फूल टिपौं । यसले भोक टर्छ, छाक पनि टर्छ। ” भनेर बार बार भन्दापनि लोभी बटुवाले दानी बलुवाको एक शब्द पनि सुनेन । लोभी बटुवा कमलको फूल टिप्न पोखरीमा पस्यो र त्यहीं दलदलमा भासिएर मर्यो ।

दयालु बटुवाले जति बचाउने कोशिस गरेपनि सकेन । न त पोखरीबाट लास नै उसले निकाल्न सक्यो । गाउँबाट धेरै टाढाको जंगलमा दानी बटुवा साथीको वियोगमा धेरै छट्पटायो । दानी बटुवाले त्यस्तो दु:खद र वियोगान्त घडीमा छटपटिंदै सोच्यो ” साथी त मर्यो मर्यो तर मैले उसको जहान परिवारलाई मर्न दिनुहुन्न । ” त्यसपछि उसले पोखरीको डिलमा फुलेका जंगली सिस्नुका फूलहरू टिपेर गाउँतिर लग्यो । कैयौ दिनदेखि भोकै बसेका लोभी बटुवाको परिवारको ज्यान तिनै सिस्नुका फूलहरू खुवाएर बचायो ।

आफूले दु:ख गरेर कमाएको धन पनि लोभी बटुवाको छोराछोरी पढाउनमा खर्च गर्यो । उसले
मृत साथीको नाउँमा उसैको गाउँमा चौतारी बनाइदियो । धारा बनाइदियो । धाराको पानी बगेर जम्मा हुनेगरी जमिन खनेर पोखरी पनि बनाइदियो र त्यो पोखरीमा कमलका फूलहरू रोपिदियो । उसले चौतारी नजिकै धर्मशाला पनि बनाइदियो ।
धर्मशालाको नाउँले गाउँ नै प्रसिद्ध भयो ।
दानी बटुवाले आफ्नो बाँकी रहेको धन गरीवहरूलाई बाँडदियो । उसले आफ्नो जीवनको अन्तिम दिन त्यहीं धर्मशालामा बिताएर संसारबाट बिदा लियो ।
मरेर गएपनि दानी बटुवाको नाम सुवास देशैभरि फैलिरह्यो ।

तपाईको प्रतिक्रिया