‘रिङकी बुङको राँगोलाई’ गीतको कभर गाउने रमेश प्रसाईहरु खोई ?

Halesi Khabar
0 Shares

हलेसी डेक्स
खोटाङ, १० मंसिर । ‘रिङकी बुङको राँगोलाई’ का लोक गायक सुरेश गन्धर्व अहिले बिरामी भएको खबर पूर्वको कपुरी न्युजमा छापिएको छ । निकै नै लोकप्रिय रहेको गीत ‘रिङकीबुङको राँगोलाई, चुङकेबुङको चुलेसीले’ बोलको गीत गाएर नेपालीहरुको जनजिब्रोमा झुण्ड्याउन सफल गायक तथा संगीतकार सुरेश गन्धर्व धरानमा अस्पतालमा रहेको खबर प्राप्त भएको ।

सुनसरी धरानबाट कपुरी न्युजका पत्रकार संजिता धमलाले सुरेश गन्धर्वका बारेमा गुनासो गर्नु हुन्छ । एउटा श्रष्टाले यति सारो दुख नपाउनु पर्ने हो । संजीताका अनुसार अहिले उनलाई पछिल्लो समय मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर, थाइराइड जस्ता रोगहरूले च्यापेको छ ।

आखिर को हुन त सुरेश गन्धर्व
रिंकीबुङको राँगोलाई, चुङकेबुङको चुलेसीले
ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर
अरुण तमोर तरौला, तिते फापर छरौला
फुल लाउँला केसरी, खाउँला बेसरी

……. का गायक तथा संगीतकार सुरेश गन्धर्व ६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका हुन् । उनले थाहा पाउँदा देखिनै उनी सारङ्गी सँग खेल्ने गर्थे । सारङ्गी रेट्दै हिँडेको करिब ५० वर्ष भन्दा बढी भएको छ । जीवनमा उनले धेरै गीत गाए । धेरैको मन पनि जिते ।

लामो समय देखि धरानलाई कर्मथलो बनाएका सुरेश यति बेला धरान– ८ बरगाछीमा कोठा भाँडामा बस्दै आएका छन् । लकडाउन नहुँदा दिनको ४÷५ सय रुपैयाँसम्म कमाउने उनले कोरोनाका कारण लक डाउन शुरु भएपछि कमाई हुन छाडेको बताए । उनलाई अहिले छाक टार्न नै धौ धौ परेको छ ।

उनले सिजन तथा चाडपर्व आएको बखत दैनिक १२÷१३ सय सम्म कमाउँथे, तर लकडाउन सँगै कोरोनाको कहरका कारण कुनै आम्दानी नभएपछि विचल्लीमा परेको उनको भनाई रहेको छ । अहिले रोगले समेत उतिकै च्यापेको छ ।

नेपाल तथा भारतका धेरै ठाउँहरू हिँड्दा धेरै धेरै सुख दुःख भोगेका उनले भारत तीर गीत गाउँदै जाँदा सिके श्रेष्ठसँग भेटे र उनले त्यहि पाएका थिए यो शब्द ‘रिङकीबुङको राँगोलाई’ । उनको अतित्हरु निकै मार्मिक र भावुक बनाउने किसिमका छन् ।

एक ताका काठमाडौँको पशुपति बनकालीमा २०६० सालमा रोडमा बसेर गीत गाईरहँदा एक प्रहरी अधिकृतले हप्काएको पिडापनि उनिसँग छ । ति प्रहरीले उनलाई ‘तेरो मुन्टो चुँडाएर फालिदिन्छुु’ सम्म भनेको तितो स्मरण उनले सुनाउँछन् । कतिपय स्थानमा गाउँघरका मानिसले समेत बचन लाउने गरेको उनले गुनासो गरे ।

सुरेशको काइँली छोरी तारा गन्धर्वले बुवाले सारङ्गी बजाएर नै खर्च चलाईरहेको बताईन् । उनले बुवा बिरामीले थला परे पछि कमाउने कोही नभएको दुखेसो पोखेकी छन् । २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिङकीवुङको राँगोलाई बोलको गीत रेकर्ड गरेका थिए ।

पारिश्रमिक बापत उनले त्यति बेला २५ सय पाएका थिए । २०६० सालमा नेपालमा सांरगी बाध्य वादनमा दोश्रो भएर पुरस्कृत समेत भएका पाएका सुरशको अहिले भने आर्थिक अवस्था नाजुक भएको छ ।

सिके श्रेष्ठले रचना गरेको गीतको रेकर्ड धनकुटा स्थित रेडियो नेपालको कार्यालयमा भएको थियो । पछिल्लो समयमा यहि गीतको कभर बनाएर रमेश प्रसाईले निकै चर्चापनि बटुलेका छन् । तर जुन गीतको सर्जक संगीतकार तथा गायक यसरी बिरामी परेर ओछ्यानमा रहेको बेला रमेश प्रसाईहरु किन उपचारका लागि लाग्दैनन् ।

सुरेश गन्धर्वले गाएको गीतलाई गाएर आफ्नो क्यारिएरको चर्चा चलाउनेहरुले यस्तो बेला केही गर्दा हुँदैन र ? यस्तै नेपाली गीत संगीतमा रहेका सबै स्रष्टाहरुले कसै न कसैले केही न केही अभियान चलायपनि त हुने हो नी किन यसो गरिदैन । हाम्रा कलाकारहरुसँग संवेगात्मक भावहरु सकिएकै हुन् त ? अब यी प्रश्नहरु उठाउनु पर्ने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया