हलेसीमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन

Halesi Khabar
0 Shares

खोटाङ, ११ मङ्सिर । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न हलेसी तुवाचुङ नगरपालिकाले पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर–५ दुर्छिमस्थित स्वास्थ्य चौकी छापडाँडामा विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह गर्नेगरी बिहीबारदेखि कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

एक नम्बर प्रदेश सरकारको रु दश लाख लगानीमा स्थापना गरिएको अस्पताल समयावधि सकिएपछि पनि निरन्तरता दिनेगरी सञ्चालन गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितहरुका साथै सामान्य बिरामीकोसमेत उपचार गर्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “भिडियो एक्स–रे र ल्याबसहितको सेवा दिनेगरी स्थापना गरिएको अस्पताललाई कोरोना सङ्क्रमण निर्मूल भएपछि पनि निरन्तरता दिने योजना बनाएका छौँ ।”

अस्थायी कोभिड अस्पतालमा विशेषज्ञ डा.कृष्ण राउतसहित दुई जना स्टाफनर्स र एक जना कार्यालय सहयोगीले सेवा दिन शुरु गरेका छन् । तीन महिनासम्म प्रदेश सरकारको लगानीमा सञ्चालन हुने अस्पताललाई नगरपालिकाले निरन्तरता दिने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

एघार वडा रहेको नगरपालिकामा यसअघि चार जना व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको थियो । रोजगारी तथा विभिन्न काममा बाहिरबाट आएका उनीहरु चारै जना उपचारपछि सङ्क्रमणमुक्त भइसकेका नगरपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पाँच शय्याकै अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । जिल्लाका अन्य स्थानीय तहमा पनि धमाधम स्थापनाको काम भइरहेको पाइएको छ ।

त्रिधार्मिकस्थल हलेसीसमेत रहेको उक्त नगरपालिकामा यहि मङ्सिर–१५ गते १५ शय्याको अस्पतालसमेत शिलान्यास गर्ने तयारी गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको लगानीमा देशभरका स्थानीय तहमा निर्माण गर्न लागिएको १५ शय्याको अस्पताल यस वर्ष खोटाङका छ स्थानीय तहमा निर्माण हुँदै छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र साकेला गाउँपालिकामा यस वर्ष १५ शय्याको अस्पताल बन्ने भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । जिल्लाको एकमात्र १५ शय्याको अस्पतालसमेत यसै वर्ष ५० शय्यामा स्तरोन्नति हुने भएको छ ।

करीब रु ५५ करोड लागतमा निर्माण हुने जिल्ला अस्पतालको आशयपत्र (टेन्डर) आव्हान गर्ने तयारी गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । वि.सं. २०४८ सालमा स्थापना भएको १५ शय्याको जिल्ला अस्पताल अहिलेसम्म पनि स्तरोन्नति नहुँदा कतिपय बिरामीलाई भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।

 

 

तपाईको प्रतिक्रिया