साकेलामा एकै वर्ष रु ८७ लाख सामाजिक सुरक्षा भत्ता दुरुपयोग

Halesi Khabar
0 Shares

खोटाङ, २४ मङ्सिर । साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष रु ८७ लाख बढी दुरुपयोग भएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको देखिएको हो ।

भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले आर्थिक वर्ष २०७६÷०७७ भित्र रु ८७ लाख ४१ हजार ६०० रकम दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत १४ असोजमा गठित समितिले तयार पारेको प्रतिवेदन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’लाई बुझाएको छ ।

छानविन समितिले आर्थिक वर्ष २०७६÷०७७ मा साकेला गाउँपालिका वडा नम्बर–१ बाँझेच्यानडाँडामा रु २० लाख ३४ हजार ४००, वडा–२ रतन्छामा रु १२ लाख २८ हजार, वडा– ३ खिदिमामा रु ११ लाख ८७ हजार २००, वडा–४ मात्तिममा रु २२ लाख ८७ हजार २०० र वडा–५ मात्तिमबिर्तामा रु २० लाख ४८ हजार सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको छानविनका क्रममा फेला परेको छानविन समिति संयोजक एवम् उपप्रमुख खड्काले जानकारी दिनुभयो । शुरुमा वडा नम्बर–४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि उपप्रमुख खड्काको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।

पन्ध्र दिनभित्र छानविन प्रतिवेदन बुझाउन समय पाएको समितिले १३ मङ्सिरमै प्रतिवेदन सार्वजनिक गर्ने बताएको थियो । तर, समितिले दश दिनपछि मङ्गलबार मात्र आफ्नो प्रतिवेदन सार्वजनिक गरेको जनाइएको छ ।

अघिल्ला आर्थिक वर्ष वितरण भएका सामाजिक सुरक्षा भत्ताको खर्च फस्र्योट भइसकेकाले एक वर्ष (आर्थिक वर्ष २०७६÷७७) भित्रको सामाजिक सुरक्षा भत्तामा दुरुपयोग विषयमा मात्र छानविन गरिएको जनाइएको छ । “हुँदै नभएका मान्छेको नाममा काल्पनिक मान्छे खडा गरेर अनियमितता गरेको पाइएको छ”, गाउँपालिका प्रमुख झङ्कारले भन्नुभयो, “रकम दुरुपयोग गर्नमा क–कसको संलग्नता छ, कति असुल गर्नुपर्ने हो, पुष्टि भएपछि कारबाही अघि बढाउने छौँ ।”

शुरुमा वडा–४ मात्तिममा सामाजिक सुरक्षा भत्ता चुहावट भएको विषयलाई लिएर छानविन समिति गठन गरिए पनि समितिले गाउँपालिकाभित्रका सबै वडाको छानविन गरेको छ । मात्तिममा सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको घटना बाहिरिएलगत्तै वडा–५ मात्तिमबिर्ता र वडा–२ रतन्छामा पनि सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भइरहेको तथ्य बाहिरिएको थियो ।

गाउँपालिकाभरी हुँदै नभएका व्यक्तिको नाममा तीन जनाका साथै एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्य पनि फेला परेको छ । कर्मचारीको लापरवाहीले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको प्रतिवेदन छानविन समितिले सार्वजनिक गरेपछि वडा तथा गाउँपालिकाका जनप्रतिनिधिसमेत नैतिक प्रश्नको कठघरामा परेका छन् ।

तपाईको प्रतिक्रिया