नेकपा विप्लव समुहप्रति निर्मम बन्दै सरकार

Halesi Khabar
0 Shares

हलेसी डेक्स
खोटाङ , २५ मंसिर । सरकारद्धारा प्रतिवन्दित नेकपा विप्लव समुहप्रति सरकार निर्मम बन्ने भएको छ । मोरङको मिक्लाजुङमा मंगलबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको प्रकरणपछि सरकारले यो समुहको उच्च निगरानी राख्दै अझै निर्मम कार्यबाही गर्ने निस्कर्ष निकालेको छ ।
मंगलबार भएको घटना लगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर यसको समिक्षा गरेको थियो । राज्यका तीन वटा सुरक्षा निकायको प्रमुख सहभागी बैठकले विप्लव समूह व्यक्तिहत्यातर्फ केन्द्रित भएको निष्कर्ष निकाल्दै सो समूहप्रति थप निर्मम बन्ने निर्णय गरेको हो ।
यता मोरोङको मिक्लाजुङमा भएको घटनापछि घटनास्थल आसपासमा सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको बाक्लो उपस्थितिमा त्यस क्षेत्रमा खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र अपराधस्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर सर्च अपरेशन जारी राखिएको हो ।
समूहका सदस्यहरु जंगलमा लुकेको हुनसक्ने आशंकामा खोजी जारी राखिएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिनु भएको छ । ‘अपराध भएपछि अपराधस्थलको वस्तुस्थितिसहित अन्य कुरा बुझ्न सर्च गर्नु नियमित प्रक्रिया नै हो’, कार्कीले भने, ‘त्यसमाथि समूहका सदस्यहरु अझै जंगलमा पनि लुकेको हुनसक्ने भएकाले खोजी जारी राखिएको हो ।’
एक अधिकारीका अनुसार विप्लव समूहले पछिल्लो समय मोरङमा सैन्यतर्फ ठूलो क्षति व्यहोरेको थियो । त्यसक्रममा सुराकी दिएको आरोपमा समूहले मिक्लाजुङ–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठलाई अपहरणपछि घाँटी रेटेर हत्या गरेका हुन् ।

तपाईको प्रतिक्रिया