जिल्ला फुटबल सङ्घ खोटाङलाई एन्फाको खेल सामग्री

Halesi Khabar
0 Shares

खोटाङ, २९ मङ्सिर । जिल्ला फुटबल सङ्घ खोटाङलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलकुद सामग्री उपलब्ध गराएको छ । खोटाङले एन्फाको सदस्यता पाएको केही समयपछि जिल्ला फुटबल सङ्घमार्फत जिल्लाका दशवटा फुटबल क्लवले पहिलोपल्ट एन्फाबाट खेलकुद सामग्री प्राप्त गरेको हो ।

एन्फासँगको आवद्धता प्राप्तिसँगै एन्फाले यसपल्टदेखि जिल्ला फुटबल सङ्घलाई खेलकुद सामग्री खरिदका लागि बजेट उपलब्ध गराउन थालेको सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो । एन्फाले उपलब्ध गराएको रु ५० हजार रकमबाट खरिद गरिएका खेल सामग्री फुटबल सङ्घमा आवद्ध क्लवलाई प्रदान गरिएको हो ।

फुटबल सङ्घमा आवद्ध बाक्सिला फुटबल क्लव, बुइपा एलाभेन स्पोर्टस् क्लव, सोल्मा स्पोर्टस् क्लव, खोटाङ फुटबल एकेडेमी, खारम्बु स्पोर्टस् क्लव, हलेसी तुवाचुङ फुटबल क्लव, खोटाङ भगवती स्पोर्टस् क्लव, जन्तेढुङ्गा फुटबल क्लव, नुनथला स्पोर्टस् क्लव र नमूना स्पोर्टस् क्लव लफ्याङलाई ५÷५ वटा फुटबल लगायतका खेल सामग्री प्रदान गरिएको छ ।

दिक्तेलस्थित खोटाङ फुटबल एकेडेमीको माटिकोरे (कार्यालयमा फुटबल क्लवका अध्यक्ष तथा प्रतिनिधिलाई प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रदेश समिति सदस्य समिर राई, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष माइतीराज राई, खेलकुद सम्वद्ध व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।

खेलकुदका सामग्री व्यवस्थापनका लागि एन्फाले केही समयपछि पुनः फुटबल सङ्घलाई रु ५० हजार रकम निकासा दिने जनाइएको छ । वि.सं. २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई एन्फाले २०७६ सालमा सदस्यता दिएको हो ।

तपाईको प्रतिक्रिया