नेकपा स्थायी समितिको बैठक पुस ५ सम्म स्थगित

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठक पुस ५ गते बस्नेगरी स्थगीत गरिएको हो ।

बुधबार बसेको बैठकले हिजो मंसिर ३०, मंगलबार मात्र राष्ट्रपति मार्फत जारी भएको संवैधानिक परिषदसम्बन्धी आध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिने र पार्टीका नेताहरु तथा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्ने आवेदन लाई समेत फिर्ता लिने सर्वसम्मत निर्णय भएको पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै संवैधानिक परिषदको मंगलबार बसेको बैठकले कुनै ठोस निर्णय नगरेको प्रधानमन्त्री ओलिले बैठकलाई जानकारी दिएका छन् । स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँग छलफल भएको थियो । छलफलमा भएको सहमती अनुसार अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन तयार भएका थिए । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएसँगै संसदको विशेष अधिवेशनको माग गर्ने आवेदन पनि फिर्ता गर्ने सहमति जुटेपछि बुधबारको बैठकमा प्रधानमन्त्री ओलीको सहभागिता रहेको थियो ।

यस अघि पुस ५ गते बस्ने भनिएको केन्द्रिय समितिको बैठकको कार्यतालिका भने ५ दिन प्रभावित भएको छ । अब नेकपा केन्द्रिय समितिको बैठक पुस १० गते बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया