काठमाडौँ, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले स्थायी कमिटी बैठकमा पेश भएका राजनीति प्रस्ताव फिर्ताको हल्ला निराधार भएको जनाएको छ ।
आज बसेको स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डका प्रेस संयोजक बिष्णु प्रसाद सापकोटा ‘जुगल’ले बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने र राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराएका हुन् ।
उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका बैठकका निर्णयहरू निम्न छन्ः–
आज २०७७ पुष १ गते बालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ ।
२. संवैधानिक नियुक्तहरु सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको छ ।
३. पार्टी स्थायी समितिको बैठक यही पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको छ ।
४. बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने । राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराउँदछु ।