हलेसी खबर
काठमाडौं, २ पुस । माइतीघरमा मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले बिहिबार हलो र जुवासहित सडकमा निस्केका छन् । गएको शनिबार सर्लाहीबाट काठमाडौं आएर आईतबार देखि निरन्तर प्रदर्शनमा उत्रिएका किसानहरुले आफ्नो परिश्रमको मुल्य पाउन आन्दोलन गरिरहेका हुन् ।
सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् । मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गते भित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तरपनि उद्योगीहरुले एकवर्ष सम्म पैसा नदिएपछि काठमाडौं आएर फेरी आन्दोलन गर्न बाध्य भएको किसानहरुले गुनासो छ । उनिहरुले प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्यकोषबाट भएपनि बाँकी बक्यौता भूक्तानी गरी सरकारले नै उद्योगीहरुबाट ब्याजसहित असुलउपर गर्नुपर्ने बताएका छन् ।
यता आन्दोलन चर्कदै गएपछि संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भने उखु किसानको भुक्तानी ७ दिनभित्र दिन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी सो को विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले ‘उखु कृषकको भुक्तानी ७ दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरणसहित अर्को हप्ता समितिलाई जानकारी गराउने ।’ निर्देशन दिए ।