भिम राई
खोटाङ, ३ पुस । जिल्लाको जन्तेढुँगा र बाराहा पोखरी गाउँपालिकाको १४ वटा विद्यालयमा किरात राई पुमा भाषाको पढाई हुने भएको छ । किरात पुमा राई तुप्खाबाङ्खालाको पहलमा खोटाङ जिल्लाको दुईवटा गाउँपालिकाको विद्यालयहरुमा किरात राई पुमा भाषाको कक्षा संचालन गर्न लागिएको हो ।
स्थानीय गाउँपालिकाको स्विकृतिमा किरात पुमा राई तुम्खाबाङ्खालाले भाषाको पाठ्य्क्रम निर्माण गरी पाठ्य पुस्तक समेत निर्माण गरिसकेको छ । यहि शैक्षिक सत्रदेखि कक्षा संचालन गर्न लागिएको पुमा भाषामा यस बर्ष कक्षा १ को पाठ्यपुस्तक तयारी अवस्थामा रहेको तुप्खाबाङ्खालाका अध्यक्ष भुपेन्द्र पुमा राईले जानकारी दिएका छन् ।
शुरुको चरणमा जन्तेढुङ्गा गाउँ पालिकाको वडा नम्बर १ देविस्थानको श्री शिक्षा निकेतन औतारी माध्यामिक विद्यालय पौवा देबिस्थान, श्री जनता आधारभूत बिद्यालय बुकुला देबिस्थान र श्री चौतारा निम्न माध्यामिक विद्यालय पाडेगाउ देबिस्थानमा कक्षा १ का विद्यार्थीहरुलाई पुमा भाषा पढाईने छ । यसैगरी जन्तेढुँगा गाउँपालिका वडा नम्बर ६ दिप्लुङको श्री पैयाटार प्राथामिक विद्यालय निगाल्बास र भानुमती प्राथामिक विद्यालय दिप्लुङ्गमा कक्षा संचालन गरिने छ ।
यस्तै जन्तेढुँगा गापाकै ५ नम्बर चिसापानी स्थित श्री जन बहुमुखी आधारभुत विद्यालय घोर्ले र सिंहदेबी आधारभुत विद्यालय पाथीभारामा किरात राई पुमा भाषाको कक्षा १ को पढाई हुने भएको छ ।
यसैगरी बाराहापोखरी गाउँपालिका वडा नं ६ मौवाबोटेको श्री चकलीदेबी अधारभुत विद्यालय ईमखिम, श्री जलकन्या आधारभुत विद्यालय आहाले, श्री जन सहयोग आधारभुत विद्यालय चाभालोक्खा र मौवाबोटे अधारभुत विद्यालय वालङ्गतुङमा पुमा भाषाको कक्षा संचालन हुने तुप्खाबाङ्खालाका अध्यक्ष भुपेन्द्र पुमा राईले जानकारी दिएका छन् ।
यस्तै बाराहापोखरी गाउँपालिकाकै पौवासेरा अन्तर्गत पाँचकन्या मावि चेङ्खुवामा कक्षा संचालनको प्रकृया अगाडि बढाउने योजना रहेको अध्यक्ष राईले जानकारी दिएका छन् । यस्तै पौवासेरा कै बोरोमतोङ्ग, सोराखानीमा रहेको विद्यालयलाई पनि कक्षा संचालन गर्न सकिने विद्यालयका रुपमा राखिएको उनले जानकारी दिए ।
यता जन्तेढुगाँ गाउँपालिकाले भने मातृभाषाको कक्षा संचालन गर्ने निति बनाई सकेको छ । गाउँपालिका अध्यक्ष शंकरबहादुर राईका अनुसार जन्तेढुँगाको देविस्थान, चिसापानी र दिप्लुङमा पुमा भाषाको कक्षा संचालन गर्ने र बोपुङ, काहुले र डम्बर्खुशिवालयमा बान्तावा भाषाको कक्षा प्राथामिक तहबाट शुरु गरिने छ ।
बाराहो पोखरी गाउँपालिकामा भने हालसम्म छलफल र समन्वय भई नसकेको पालिका उपाध्याक्ष गोमा मगरले जानकारी दिएकी छन् ।