तावाभञ्ज्याङदेखि पर्यटकीयस्थल टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल शिलान्यास

Halesi Khabar
0 Shares

सञ्जिव राई

साकेला, ३ पुस । साकेला गाउपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङदेखि चखेवाभञ्ज्याङ हुँदै टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल (पदमार्ग) शिलान्यास गरिएको छ । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गर्न लागिएको हो ।

पदमार्ग निर्माण गर्न साकेला गाउँपालिका, प्रदेश सरकार र स्वीस सरकार विकास नियोगको त्रिपक्षीय लगानी रहने भएको छ । प्रस्तावित पदमार्ग निर्माण गर्न साकेला गाँउपालिकाको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको तर्फबाट ३५ प्रतिशत अनुदान सहयोग रहने भएको छ ।

सरकारको तीनवटै तह तथा स्वीस सरकारबाट प्राप्त जम्मा रु ९८ लाख ८५ हजार ६३९ को लागतमा उक्त पदमार्ग निर्माण हुने गाउँपालिका प्रमुख अजुनकुुुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । तावाभञ्ज्याङदेखि चखेवाभञ्ज्याङसम्म करीब दश किलोमिटर लामो हुने उक्त पदमार्गको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले शुक्रबार औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो ।

त्रिपक्षीय सम्झौताको आधारमा निर्माण गर्न लागिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा राखेको छ । यस वर्ष उक्त पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुख्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत काम हुने जनाइएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका राईले यस मुन्धुम ट्रेलबाट खोटाङ र भोजपुरले धेरै ठूलो आम्दानी लिन सक्ने सम्भावना रहेको बताउनुभयो । “प्रदेश नम्बर १ भित्र पर्ने पदमार्गहरुमध्ये उत्कृष्ट १ मा मुन्धुम ट्रेल पर्छ”, उहाँले भन्नुभयो, “तावाभञ्ज्याङदेखि चखेवा हुँदै पर्यटकीयस्थल टेम्के जोड्ने मुन्धुम ट्रेल यहाँका किराँत राई समुदायसँग सम्बन्धित रहेकाले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।”

प्राकृतिक रुपमै पर्यटकको रोजाइमा पर्ने तावाभञ्ज्याङमा कृतिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । प्रदेश नम्बर–१ कै नमूना तथा ठूलो कृतिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो ।

करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृतिम तालका लागि १ नम्बर प्रदेश सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख झङ्कारले बताउनुभएको छ । समुन्द्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाईमा रहेको तावाभञ्ज्याङमा साँढे ६०० मिटर लम्बाई र ५०० मिटर चौडाईको कृतिम ताल निर्माण हुँदै छ ।

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृतिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा वाह्य पर्यटकलाई करीब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेलाउन र दृष्यावलोकन गराउनका साथै तालभित्र माछा तथा हाँस पालन लगायतका क्रियाकलाप गर्नमा सहज हुने अपेक्षा गरिएको छ ।

भोजपुरको पाँचधारे तथा टेम्केको फेदमा पर्ने तावाभञ्ज्याङको माथिल्लो भेगमा शहीद पार्क निर्माण गर्ने योजनासमेत प्रदेश सरकारबाट स्वीकृत भएर आएको गाउँपालिकाले जनाएको छ । शहीद पार्कका लागि प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया