नेकपा खोटेहाङद्धारा नौँवटै वडामा श्रम शिविर सञ्चालन

Halesi Khabar
0 Shares

खोटाङ, ४ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटेहाङ गाउँपालिकास्तरीय समितिले श्रम शिविर सञ्चालन गरेको छ । नेकपा गाउँपालिकास्तरीय समितिमा आवद्ध नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागितामा सञ्चालन गरिएको एक दिने श्रम शिविर अन्तरगत सडक मर्मत, स्कूल तथा क्याम्पस र स्वास्थ्यचौकी जाने बाटो मर्मतका साथै सरसफाई गरिएको छ ।

‘श्रम गरेर बाँच्न सिकौँ र श्रमको सम्मान गरौँ’ भन्ने नाराका साथ एक दिने श्रम शिविर सञ्चालन गरिएको नेकपा खोटेहाङ गाउँपालिकास्तरीय समितिका अध्यक्ष राजनप्रसाद ढकालले जानकारी दिनुभयो । “हामीमा श्रम गर्ने बानी हटिसकेको छ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट विचारमा आस्था राख्नेहरु श्रम गरेर बाँच्न सकौँ र श्रमको सम्मान गरौँ भन्ने सन्देश प्रवाह गर्न श्रम शिविरको आयोजना गरिएको हो ।”

नेकपा गाउँपालिकास्तरीय समितिको गत मङ्सिर–५ गते बसेको पूर्ण बैठकले नौँवटै वडामा एकैसाथ पुस–४ गते एक दिने श्रम शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । नेकपा गाउँपालिकास्तरीय समितिले आयोजना गरेको श्रम शिविरमा नेकपाका नेता, कार्यकर्ता र शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको थियो ।

यसअघि गत कात्तिक २१ गते नेकपा जन्तेढुङ्गा गाउँपालिकास्तरीय समितिले पनि एक दिने श्रम शिविर सञ्चालन गरेको थियो । छ वडा रहेको उक्त गाउँपालिकामा ७६ वर्षीय लक्षुमान रोईलाको समेत सहभागिता रहेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा नेकपा जिल्ला सचिवालय समितिको गत असोज १८ र १९ गते बसेको पूर्ण बैठकले आ–आफ्नो क्षेत्रमा श्रम शिविर सञ्चालन गर्न निर्देशन गरेको थियो । जिल्लाका अन्य स्थानीय तहमा पनि श्रम शिविर सञ्चालन भइरहेको नेकपा खोटाङका प्रचार विभाग प्रमुख सँगिन किराँतीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया