रावाबेँसीको हरमटारमा हरेक शुक्रबार हाटबजार सञ्चालन गरिने

Halesi Khabar
0 Shares

खोटाङ, ९ पुस । रावाबेँसी गाउँपालिकाले साप्ताहिक हाटबजार सञ्चालन गर्ने भएको छ । गाउँपालिकाभित्र उत्पादित कृषि उपज बिक्री गर्न तथा उपभोक्ताले खरिद गर्ने ठाउँ निर्धारण गर्नका लागि गाउँपालिकाले वडा नम्बर—१ कुभिण्डेस्थित हरमटारमा हरेक हप्ताको शुक्रबार हाटबजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

कृषक गुनासो तथा बाध्यतालाई सम्बोधन गर्दै स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सङ्कलनगरी बिक्री बितरण गर्ने वातावरण सिर्जना गर्न साप्ताहिक हाटबजार सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । गत मङ्सिर २८ गते गाउँकार्यपालिकामा बसेको बैठकले प्रत्येक हस्ताको एक पटक अर्थात पुस १० गते शुक्रबारबाट नियमित हाट बजार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाको केन्द्र रहेको हरमटारमा हाटबजार सञ्चालन गर्नका लागि स्थानीय बासिन्दाले साँडे तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । आर्थिक वर्ष २०७७—०७८ मा गाउँपालिकाले कृषि उपज सङ्कलन तथा बिक्री बितरण गर्न रु. पाँच लाख विनियोजन गरी हाटबजार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाका स्थानीय बासिन्दाले गाउँमा उत्पादन गरेका तरकारी, फलफूल उत्पादन गरे पनि गाउँपालिकाभित्र हाटबजार नहँुदा कृषक एक दिन लगाएर छिमेकी स्थानीय तहको ऐसेलुखर्क, हलेसीस्थित अर्खौले बजार र दिक्तेलमा पु¥याउनुुपर्ने बाध्यता थियो । हाटबजार सञ्चालन भएपछि कृषकलाई कृषि उपजहरु बेच्न तथा किनमेल गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो ।

छ वडा रहेको उक्त गाउँपालिकामा सबै कृषकले अब एक दिन लगाएर अन्य ठाउँमा कृषि उपज बिक्री गर्न जानुपर्ने बाध्यताको अन्त्य हुुनेभएपछि कृषकहरु समेत हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा यसअघि नै हाटबजार सञ्चार हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया