खोटाङ, १० पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहमा आवद्ध खोटाङका विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीको कदमबिरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अनेरास्ववियू खोटाङले शुक्रबार साँझ दिक्तेल बजारस्थित सल्लेरीटोलबाट शुरु गरेको राँके जुलुस बजार परिक्रमा गरेर त्रिवेणीचोकमा समापन गरिएको थियो ।
अनेरास्ववियूले निकालेको राँके जुलुसमा राष्ट्रपतिको गरिमा कायम गर, विधिको शासन लागू गर, आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ, केपी सरकार मुर्दावाद, असंवैधानिक कदम फिर्ता गर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिन्दावाद लगायतका नारा लगाइएको थियो । अनेरास्ववियूले निकालेको राँके जुलुसमा प्रचण्ड–नेपाल समूहमा आवद्ध नेताहरुको समेत उपस्थिति रहेको थियो ।
त्रिवेणीचोकमा समापन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू खोटाङका अध्यक्ष माया चाम्लिङले तीन करोड जनताको बलिदानबाट प्राप्त अधिकारलाई कुण्ठित पार्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई कुर्सीमा बसिरहन छुट नभएको बताउनुभएको छ । ओली सरकारको कदम नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।