हलेसी खबर
खोटेहाङ १२, पुस । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे (साविक लिच्किराम्चे ५ कालापानीमा कोशीको पानी तानेर गाउँमा वितरण शुरुगरिएको छ । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राइको अवधारणामा सम्पन्न आयोजनाको राई स्वयंमले उद्घाटन गरेका छन् ।
राजनीति संगठन गर्न जाने क्रममा कालापानी पुगेका राईले ०७०÷०७१ बाट यो आयोजनाको बारेमा छलफल शुरुवात गरेका थिए । सुनकोशी नदीबाट करिब १८ सय मिटरको उचाईमा रहेको कालापानीको डाँडामा सुनकोशीको पानी निकालिएको छ रसुवाघाट–कालापानी खानेपानी आयोजना ०७६ साल पुस २४ मा सम्पन्न भएको भएपनि देश भर फैलिएको कोभिड संक्रमणका कारण उद्घाटन कार्यक्रम रोकिएको थियो ।
सुनकोसीको पानी लिफ्टिङ प्रविधिबाट कालापानीमा निकाल्न २०७२ साल चैत्र ११ गते रसुवाघाट–कालापानी खानेपानी आयोजनाको स्वयं राईले शिलान्यास गरेका थिए ।
नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी करिब १ करोड ८० लाखमा रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए । विद्युतमार्फत सञ्चालन हुने पम्पिङ प्रविधि अपनाएर सुनकोसीको रसुवाघाटबाट करिब १८ सय मिटरमाथि रहेको गाउँमा निकालिएपछि स्थानीय हर्षित छन् ।
नदीको पानी गाउँकै धाराहरुमा झर्न थालेपछि स्थानीय वासीहरु हर्षित भएका छन् । स्थानीय देवीका राउतले, ‘ खोलामा गएर पानी ल्याउन नपर्ने भएको छ ।’ पिउने पानीको चरम अभावमा तिब्र बसाईसराई रहेको कालापानीमा सुरु गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम पुरा भएसँगै नदीको पानी गाउँमा निकालिएको हो । आयोजनाबाट कालापानीका ६२ घरमा धारा पु¥याइएको छ ।
खानेपानी आयोजना जिल्लाकै पहिलो र ठूलो लिफ्टीङ योजना हो । ‘९७ घरलाई धाराको स्टीमेट गरिएको थियो, तर आयोजना सम्पन्न हुँदा बसाईसराईले ६२ घर मात्र बाँकी रहेका छन् । अध्यक्ष राउतले भने, ‘नदीको पानी निकालेपछि पानीको समस्या हल भएको छ । उपभोक्तामाथि पर्ने आर्थिक भार कम गर्न विद्युतको सट्टा सौर्य उर्जा प्रयोग गर्ने लक्ष्य राखेका छौँ ।’
लिफ्टीङ आयोजनाका लागि नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ । सो बोरिङस्थलबाट विद्युतको सहायतामा ५० एमएमको जिआई पाईपमार्फत १०÷१० हजार लिटर क्षमताको दुई वटा सप्लाई ट्यांकीमार्फत सबैभन्दा माथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको आरसिसि ट्यांकीमा पानी जम्मा गरेर वितरणको व्यवस्था मिलाइएको उपभोक्ता समितिका अध्यक्ष राउतले बताए ।
छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका ११५ घरपरिवारले हाल घण्टौँ धाएर पानीको जोहो गर्न बाध्य थिए । गाउँ र नदीकोबीचमा निर्माण गरिएको पहिलो र दोश्रो सप्लाई ट्यांकी हुँदै सबैभन्दा माथि निर्माण गरिएको मूल ट्यांकीमा नदीको पानी निकालेर ९७ धारामार्फत ५ सयभन्दा बढि उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्यकासाथ आयोजनाको काम थालिएको थियो ।
तर, आयोजना सञ्चालनकैक्रममा दर्जनौं घरपरिवार बसाईसरिसकेकाले निर्धारित धारा संख्या वितरण नभएको समितिले जनाएको छ । खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोसीको पानी लिफ्ट गर्ने प्रयास स्वरुप २०७० सालमा ‘डिटेल सर्भे’ गरिएको थियो । बाह्रैमास कलकल बग्ने सुनकोसी भन्दा माथि रहेको कालापानी जिल्लाकै सुक्खाग्रस्त क्षेत्रमध्ये एक हो ।
खानेपानीको समस्या बिकराल चर्किएपछि कालापानीमा पम्पिङ प्रबिधिमार्फत सुनकोसीको पानी गाउँमा निकाल्ने बिकल्प अघि सारिएको हो । कालापानीका स्थानीय चुहार पँधेरा, मानेखोला पधेरा र खारखोला पधेराबाट दुई घण्टा हिडेर खानेपानी उपभोग गर्न बाध्य थिए । स्थानीय शिक्षक अस्विन राउतका अनुशार सुख्खाग्रस्त क्षेत्रकारुपमा रहेको कालापानीमा ल्याउने पानीको अन्य श्रोतको बिकल्प छैन ।
कालापानीमा खानेपानीको समस्या हल गर्न ‘नदीको पानी निकाल्नु वा बस्ती सार्नु’ पर्ने अवस्था देखिएपछि कांग्रेस महाधिबेसन प्रतिनिधि एबं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईकै पहलमा रसुवाघाट–कालापानी पम्पिङ आयोजनाको काम अघि बढाइएको थियो ।
कालापानीमा सुनकोसीको पानी तान्ने योजना सुरु भएसँगै हलेसी क्षेत्रमा दुधकोसीको, रावाबेँसीको डुम्रेधारापानीमा दुधकोसीको र दिक्तेलमै साप्सु खोलाको पानी लिफ््ट गर्ने योजना अघि बढाइसकिएको छ ।
राईलाई सम्मान
नदीको पानी गाउँमा निकाल्न योगदान पु¥याएकामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईलाई सम्मान गरिएको छ । रसुवाघाट–कालापानी खानेपानी आयोजना सञ्चालनका लागि पहल गरेकामा उपभोक्ता समितिले कांग्रेस महाधिबेसन प्रतिनिधि रहेका गाउँपालिका अध्यक्ष राईलाई सम्मान गरेको हो ।
रसुवाघाट–कालापानी खानेपानी आयोजना उद्घाटनको अवशरमा उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले कांग्रेस महाधिबेसन प्रतिनिधि एबं गाउँपालिकाका अध्यक्ष राईलाई दोसल्ला ओढाए सम्मान–पत्र प्रदान गरेका छन् । पिउने पानीको चरम अभाव भएको गाउँमा बैकल्पिक व्यवस्था स्वरुप नदीको पानी लिफ्ट गर्ने योजना अघि बढाउन र सम्पन्न गराउन योगदान र्पुयाएकामा राईलाई सम्मान गरिएको उपभोक्ता समितिका अध्यक्ष राउतले बताए ।