हलेसी खबर
खोटाङ, १५ पुस । नेकपा (दाहाल–नेपाल) समुहको जिल्ला कमिटि खोटाङको बैठक १५ गते बुधबार बसेको छ । नेकपाका स्थायी समितिका आमन्त्रीत सदस्य टंक राईको प्रमुख आथित्यतामा भएको बैठकले संसद विघटन र त्यसपछि पार्टी भित्र देखिएको राजनीतिक घटनाक्रमका बारेमा गम्भिर समिक्षा गरेको जनाईएको छ ।
जिल्ला कमिटिको बैठकमा अहिले पार्टीमा संकटापन्न अवस्था रहेको बेला जिल्लाका सम्पुर्ण पार्टीपंक्तीलाई एकढिक्का रहन अपिल गर्ने निर्णय भएको पार्टी अध्यक्ष देवान किराती पृथ्वीले जानकारी दिए । उनले वर्तमान समयमा देखिएको पार्टी विभाजनको श्रृंखला र ओली सरकारले चालेको असंवैधानिक कदमका बारेमा जानकारी दिन प्रत्येक गाउँपालिका र वडाहरुमा भेला तथा प्रशिक्षण संचालन गर्ने निर्णय भएको बताएका छन् । यसकालागी प्रत्येक गाउँ तथा टोलटोलमा जान आवश्यक जिम्मेवारी समेत नेताहरुलाई दिईएको छ ।
यस्तै विभिन्न मितिमा पार्टीका नेताहरुलाई पर्न गएको शोकलाई शक्तिमा बदल्ने साथ मिलोस भन्दै शोक प्रस्ताव समेत पारित भएको पनि किरातीले जानकारी दिए । यस्तै पुस १४ गते गरिएको विरोध प्रदर्शनमा सहभागी जनाएका सम्पुर्ण आम पार्टी कार्यकर्ता शुभचिन्तक, समर्थकहरु प्रति हार्दिक आभार व्यक्त गर्दै यातायातलाई सहज बनाईदिने यातायात व्यवसायी संघ लगायतका सहयोगी सबैलाई धन्यवाद समेत बैठकले दिएको किरातीले जानकारी दिए ।
जिल्ला समन्वय समितिको सभाहलमा नेता टंक राई, केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य राजन राई, केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य रामकुमार राई पासाङ, केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज, समिता कार्की अस्मिता, दुर्गाजयन्ती राई लगायतले बैठकलाई सम्बोधन गरेका थिए ।