हलेसी खबर
खोटाङ, १६ पुस । जिल्लाको खोटेहाङ गाउँपालिकाले भविष्यमा १५ शैयाको अस्पताल हुनेगरी हाललाई कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई गाउँपालिकाकै आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्थाका लागि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा ५ बेडको कोभिड–१९ अस्थायी अस्पताल शुरु गरिएको हो ।
यहि अस्पताललाई भविष्यमा १५ शैयाको पालिका स्तरिय अस्पतालमा रुपान्तरण गरिने गाउँपालिका अध्यक्ष प्रदिप राईले जानकारी दिएका छन् । अस्पतालको १५ गते बुधबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईले उद्घाटन गरेका हुन् ।
वर्ष दिन बित्दा पनि कोरोनाको संक्रमण दर घट्नुको सट्टा बढिरहेको अवस्थामा गाउँपालिकाले संघीय सरकारको १० लाख अनुदानमा कोभिड–१९ अस्थायी अस्पताल स्थापना गरेको हो । उद्घाटन सँगै गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, वडाध्यक्ष लगायतले अस्थायी कोभिड अस्पताल अवलोकन गरेका थिए ।
अस्पताल उद्घाटनका अवशरमा स्थानीयले केही साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरेका थिए । साकेला नाच, धामी नाच लगायतका साँस्कृतिक कार्यक्रम सहित अस्पताल उद्घाटन भएको हो । असहाय र पिडितका लागि गाउँमै अस्पताल आएकामा उत्साह जगाएको स्थानीय रत्नबहादुर खत्रीको भनाई रहेको छ । महामारीमा स्थापना गरिएको कोभिड–१९ अस्थायी अस्पताल नै केही समयपछि १५ शैयाको अस्पताल रुपान्तरण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकामा उल्लेख छ ।