हलेसी खबर
खोटाङ, १६ पुस । जिल्लाको सदरमुकाम नजिकै नेर्पामा हुन गइरहेको वडास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । वडाहरुमा सवैभन्दा ठूलो धनराशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगिताको पहिलो खेल नेर्पा र वुईपाविच हुने छ ।
दिक्तेल बजारमा रहेको उज्यालो क्याफेमा बिहीबार पत्रकार सम्मेलन गर्दै खेल तालिकाको बारेमा जानकारी दिईएको हो । आयोजक नेर्पा स्पोर्टस क्लवले खेल तालिका सार्वजनिक गर्दै १८ पुसबाट हुने प्रतियोगितामा नेर्पा र वुईपाविच पहिलो खेल हुने जनाएको छ । आयोजकका अनुसार बाँझेच्यानडाँडा–बाहुनीडाँडा, खोटाङबजार–अर्खाैले, दिक्तेल १–दुर्छिम, बाक्सिला–जालपा, बुवालुङ–लफ्याङ, सवाकटहरे–रतन्छाविच प्रतिस्पर्धा हुनेछ । सोल्मा, नुनथला, खार्मी, दोर्पा ७, भोजपुर खावा, बाम्राङ, टेम्मा, पाथेका र हौंचुरले बाई पाएका छन् । प्रतियोगितामा २३ टिमले सहभागिता जनाएको खेल संयोजक विरेन गुरुङले जानकारी दिए ।
नेर्पाको संसारीडाँडा खेलमैदानमा हुने प्रतियोगिताको प्रथम टिमले नगद १ लाख १ हजार १११ र दोश्रो टिमले ५५ हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई ३ हजार १ सय तथा सर्वाेत्कृष्ट खेलाडीलाई नगद ४ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजक नेर्पा स्पोर्टस क्लवले जनाएको छ ।
जिल्लामै वडास्तरीय ठूलो धनराशी भएको प्रतियोगितालाई जिल्ला फुटबल संघले संयोजन गरिरहेको र कोभिडपछि पहिलो पटक हुन लागेको प्रतियोगितामा जिल्लाभरका वडाले भाग लिएको जिल्ला फुटवल संघ खोटाङका संयोजक धु्रव विक्रम राईले जानकारी दिए ।