हलेसी खबर
काठमाडौं, १९ पुस । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु विपरित समूहका नेताहरुलाई लक्षित गर्दै ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्ने टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू नेकपा ओली समुह निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो शब्द प्रयोग गरेका हुन ।
विभिन्न कार्यक्रममा विपरित समुहका नेताहरुमाथी कडा आलोचना गर्दै आएका नेता ओलीले भने, ‘तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरु सहिद त होइन । अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन । खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो ।’
अझै अगाडि बढ्दै उनले थपे, ‘तपाईंहरुले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ अत्तर छर्किनुपर्छ ।’ उनले आफ्नो भाषणको क्रममा दाहाल नेपाल समूहमा रहेका नेताहरुलाई आफुसँग आउन पनि आग्रह गरेका छन् । नेताहरुलाई कुर्सीको पीर भएकाले त्यस्ता कुर्सीहरु यथावत राखिएको उनको भनाई रहेको थियो ।
‘आउनुस । तर, उहाँहरु आउनु भएन भने पनि यो अभियान अगाडि बढ्छ । दुई–चारवटा पीलो निचोरियो भने पनि वजन घटेको हुन्न भनेजस्तै अझ पीडारहित भएर अगाडि बढ्छ ।’ उनको भनाई थियो ।