हलेसी खबर
काठमाडौं, २१ पुस । नेपालको राजधानी काठमाडौंमा वायु प्रदुषणको उच्च जोखिम बढेको जनाईएको छ । अहिले सम्मकै सबै भन्दा बढी प्रदुषित वायु भएकाले सर्वसाधरणलाई बिनाकाम बाहिर ननिस्कन सरकारले अनुरोध छ ।
मङ्गलबार अर्थात आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले उल्लेख गरेको छ । वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि अमेरिकी राजदूतावासले पनि घरभित्र बस्दा झयाल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न सुझाव दिएको छ । प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ ।
नेपालको वायु प्रदूषणको तह ४८८ पुगेको आईक्यूएयरले जनाएको छ । वातावरण विभागले काठमाडौँ उपत्यकाको मङ्गलबार वायुप्रदूषण अहिलेसम्मकै बढी भए पनि सूचाकाङ्क ३०० पुगेको बताएको छ । वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका उप—महानिर्देशका इन्दु विक्रम जोशीका अनुसार अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १९० मा सिमित हुने गरेको थियो । यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भिर असर पार्न सक्ने सबैले सचेतता अपनाउन उनको आग्रह छ ।
उपत्यकासँगै तराई क्षेत्रका वायु गुणस्तर सूचाकाङ्कमा अझ वृद्धि भएको उप—महानिर्देशक जोशीको भनाई रहेको छ । काठमाडौँ उपत्यका कचैरा आकारको भएकाले यहाँ भित्र भएका प्रदूषित वायु तल्लो तहबाट वायुमण्डलको उपल्लो तहमा उड्न नपाएकाले उपत्यकाको वातावरण प्रदूषित भएको उप—महानिर्देश जोशीले बताए ।
उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारी साधन नचलाउन समेत उनले आग्रह गरे । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवाले वातावरणलाई दूषित बनाएको उनले सुनाए । जाडो याममा इँटा उद्योगहरुले इँटा पोल्ने गर्छन् ।