–भीम राई
नेपाली राजनीतिमा घरी घरी यस्तो हुन्छ । जुनबेला नेताहरुले बिजनेस नपाएर गुमनाम हुन्छन् । सरकार सत्ताभन्दा पर रहेका नेताहरु दलको आन्तरिक गतिविधिमा समेत सुस्त हुन पुग्छन् । सत्ता जति जनमुखी भएर काममा अगाडि बढ्छ उति राजनीतिक दलहरुको क्रियाशिलता कम हुन्छ ।
नेताहरु राजनीतिकर्मी भन्दा बढी समाजसेवी हुन पुग्छन् । उनीहरु जनताको काममा जुट्छन् । सरकारले ल्याएका नीति कार्यक्रम तथा विकासका कामहरुमा सहयोगीको भूमिकामा उभिन्छन् । त्यस बेला राजनीतिमा विचार र सिद्धान्तको कुरा गौण हुनपुग्छ ।
सत्ता पक्ष र प्रतिपक्षको भूमिकाहरुमा शीर्ष नेतृत्व तह देखिन्छन् तर, आधारभूत तह भन्दा अलिकति माथिका उठेका नेताहरु त्यसबेला बिजनेस बिहिन अर्थात काम बिहिन बन्न पुग्छन् । यसरी राजनीतिक काम बिहिन भएका बेला नेतृत्वले उनीहरुलाई सङ्गठन निर्माणको अभियानमा लगाउन जरुरी ठान्दैन ।
प्रशिक्षित गरिरहनु आवश्यक देख्दैन । कार्यकर्ताहरुलाई उपभोक्तावादी बिलासिताको अभियानमा जान प्रेरित गर्दछ । त्यहि मेसोमा सत्ताको वरिपरि घुम्ने बानीको विकास गराउँछ । नेताको पछि लागेर स्वार्थको भ¥याङ चढ्न मन पराउँछ । कर्मठ र विवेकशिल भएका कार्यकर्ताहरु भने आफ्नो बलबुत्ताले भ्याए अनुसार आफ्नै खुट्टामा उभिन प्रयास स्वरुप नीजि कामको व्यवस्थापन गर्न लाग्दछ ।
वैकल्पि पेशा व्यवसायमा रमाउन कोशिस गर्दछ । उसले अपनाएको वैकल्पिक व्यवसायका लागि उसले न सत्ताको आशा गर्दछ न आफूले राजनीतिमा गरेको लगानीको प्रतिफलको हिसाब लगाउँछ । फगत उ राजनीतिबाट टाढा हुने कोशिस गर्दछ र एउटा राजनीतिक चेतनाको अवसान हुने अवस्थामा पुग्दछ ।
जसले राजनीतिलाई राम्ररी बुझेको हुन्छ उ स्वार्थ देखि टाढा हुन्छ । उसले समर्थन गर्ने तर, क्रियाशिल नहुने परिवेश त्यसैमा निर्माण हुने गर्दछ । यसै बेला अवसरवादी चरित्रले मौका पाउँदछ र राजनीतिलाई नै विटुलो बनाउँछ । सत्ताको वरिपरि पुगेर स्वाद ग्रहण गरेपछि फेरी पनि त्यहि स्वादको खोजिमा यो समूह लागि रहन्छ ।
अवसरवादी चरित्रले सँधै अवसरको खोजि गरिरहन्छ । अवसर आउँछ भनेर कुर्ने धैर्यता राख्दैन । कहिले कता कहिले कता ? गरिरहने उसको यो वर्ग चरित्र नै हो । ठीक अहिलेको समय सरकार सञ्चालन गरिरहेको राजनीतिक दलभित्रको विभाजनले देखाएको छ ।
अहिले जे जति सतहमा राजनीतिक कार्यक्रमहरु देखिन थालेको छन् । यो यस अगाडि भएका थिएनन् । नेताहरु आ–आफ्नै व्यक्तिगत व्यस्ततामा रमाइरहेका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सत्ता थियो । झण्डै दुई तिहाइको नजिक भएको बलियो सरकार थियो ।
निर्वाचनका बेलामा रातारात खट्ने नेता कार्यकर्ताले जनप्रतिनिधि बनाएर आफ्नै साथीहरुलाई पठाएका थिए । सब ढुक्क थियो । नेताको वरीपरी घुम्ने स्वार्थको झुण्डले कसैले उपभोक्ता समितिको अध्यक्ष बस्न होड गरिरहेका थिए ।
कतिले स्थानीय सरकारको तर्फबाट घ वर्गकै भएपनि निर्माण व्यवसायीको प्रमाणपत्र लिएर ठेक्का पारीरहेका थिए । आफ्नो लाइसेन्सले नभ्याउँदा बाहिरबाट किनेरै भएपनि ठेकेदारी पेशामा शानवाण सम्हालेकै थिए । यस्तो सोझा, इमान्दार र बफदार कार्यकर्ताहररु भने मनमा असन्तुष्टिहरु भए पनि आफ्नैलाई किन विरोध गर्ने भन्ने मनशायले चुपचाप लागेकै थिए ।
यसबेला कुनै राजनीतिक कार्यक्रमहरुको काम नै थिएन त ? त्यसो पनि होईन । काम थियो तर गरेनन् । गर्नेले नगरेपछि चुपाचाप लाग्ने बाहेक अरु उपायपनि थिएन । तर, अहिले प्रधानमन्त्री केपी ओलीले सबै राजनीतिक दलहरुलाई काम दिएका छन् । उनले हठात संविधानमा हुँदै नभएको काम गरेर सबै राजनीतिक दलका नेताहरुलाई चक्मा खुवाए । संविधानको मर्म र भावनालाई कुल्चदै संसद विघटनको सिफारिस हुनु ।
सिरफारिस पुगेको क्षणभरमै सित्तल निवासबाट संसद विघटन हुनुले सचेत राजनीतिक दस्तालाई झकझकाएको छ । आफैले नेतृत्व गरेको आफ्नै पार्टीको विवादलाई किनारा लगाउन नसक्दा असंवैधानिक हर्कत गर्दै संसद विघटनको अहिले चौतर्फी विरोध छ । मुलुकका सबै राजनीतिक दल (राप्रपा बाहेक) एकातिर लागेका छन् । सडक उतिकै तातिएको छ ।
एउटा सदनलाई मृत्युशैयामा पु¥याएपनि जीवीत रहेको एउटा सदनमा रामनारायण विडारीहरुले उस्तै सदन तताएका छन् । सडक र सदन तातिनेमात्र होइन अहिले शहरदेखि ग्रामिण भेगमा समेत सरकारको आलोचना र समर्थनमा नारा जुलुस, भेटघाट, घरदैलो, जस्ता कामहरु अगाडि बढिरहेका छन् ।
संसद विघटनको पक्षमा भएकाहरुले आफ्नो साख जोगाउन कार्यकर्ताहरुलाई थुमथुमाउन लागेका छन् । विपक्षीहरु असंवैधानिक कदमको हदैसम्म विरोध गर्दै न्यायलयमा उपचारार्थ संसदको पुनःजीवन खोजि रहेका छन् । योसँगै संविधान रक्षाको कुरा अगाडि बढाइरहेका छन् ।
राजनीतिक हिसाबले भन्दा आ–आफ्नो पक्षमा मत बलियो बनाउन नेताहरु गाउँ पसेका छन् । आफ्ना कार्यकर्ताहरुलाई निदेर्शनको ओइरो लगाइरहेका छन् । समग्र बचाउ र विरोधको राम्रै रोजगारीको सिर्जना गरिदिएका छन् । प्रधानमन्त्री ओलीले ।