हलेसी खबर
काठमाडौँ, २३ पुस । नेकपा विवादपछि दुईवटा कित्तामा विभाजित समुहमध्ये कुनैपनि कित्तामा नगएका राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अवसर गुमाएको बताएका छन् । प्रधानमन्त्री ओलिले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि राजीनामा दिएर पार्टी एकतालाई जोगाउनु पर्ने थियो त्यसो नगर्दा जोखिम भएको उनको भनाई रहेको छ ।
बिहीबार २३ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई भने नसोधिएको दुखेसो पोखाए । यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको स्मरण गर्दै यसपटक अविश्वासको प्रस्ताव लैजाँदै गर्दा आफुलाई नसोधिएको उनको गुनासो रहेको थियो ।
आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा पनि आफूलाई नसोधिएको बताए । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’
पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेर गलत गरेको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो ।’ उनले भने, ‘म भएको भए राजीनामा दिन्थेँ । मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’