-भीम राई
कालापानी नेपालको चर्चित सिमा क्षेत्र । जसको नाम सुन्दामात्र देशभक्तीको मन्त्रणा उच्चारण गरे जस्तै लाग्छ । एक दिन पत्रकार महासंघ खोटाङका सचिव उत्तम चौलागाईले फोन गरेर भने, ´दा नमस्कार कालापानीबाट निम्ता आको छ ।’ हो न हो भर्खरै बिहे गरेको ठिटोले राम्रै रेला ग¥यो मसँग भन्ने लागी हाल्यो । मैले झटपट भने, ‘के रे भाइ ?’ उनले फेरि भने ‘होइन दाइ कालापानीमा एउटा खानेपानी लिफ्टिङको उद्घाटनको निम्ता आको छ । एउटा गाडी रिर्जभ गरेर जानु पर्ने भयो । सके रसम्म जिल्लाका सबै पत्रकारहरुलाई लिएर आउनु भन्या छन् । तँपाईको अभिभावकत्वमा जाउँ न भनेर फोन गरेको ।’
‘म त छक्क छु त उत्तम जी ! कसरी कालापानी पुगेर रिर्पोटिङ गरेर आउने ?’ मैले सोधेँ । ‘यो त कुरा गज्जब नै हो । तर रिपोर्टिङकै लागि कालापानी पुगी आउने बन्दोबस्ती चाँही कसरी गर्ने नि ?’ मेरो प्रश्नको उत्तरमा उनी भन्छन् , ‘ यो सब दिप्रुङ चुइचुम्माका गाउँपालिका अध्यक्षले मेसो मिलाउने कुरो छ । उनकै प्रस्तावमा हामी जाने हो ।’ बल्ल कुरा बुझियो । कालापानी जाने भनेको त । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं ९ लिच्किराम्चेको कालापानी पो जानु पर्ने रहेछ । जहाँ सुनकोशी नदीको पानी काकाकुल कालापानीका समुदायलाई वितरण गर्ने योजनाको उद्घाटन कार्यक्रम रहेछ ।
रमाइलो संवादपछि कालापानी गइने भो । जिल्लाको १० जना पत्रकारको टोली लिएर दिक्तेलबाट विहानै एउटा जिपमा यात्रा शुरु । मोटाघाटा र दुब्ला पाताला, अग्ला होचा र मात्ने छाद्ने । सबैको समूह हिँडेपछि बीचमा नानाथरीको बहसहरु । जिप चालक सुनिल । रफ्तारमा गाडी नुनथलामा चिया खान नपाउँदाको झोँक । बुइपाको पञ्चदोबोटोमा थुक्पा र अण्डा । सुर्य तामाङको थपाइ । मनग्गे रमाइलो भयो ।
गाडी हरर दौडिरहेको छ । साथी भेज र ननभेज गफमा व्यस्त छन् । छोरी चेलीहरु नहिँडेको गाडीमा साथीहरु यसको फाइदा उठाउँदै छन् । दोडिदै गरेको गाडी भन्डारेघाटमा रोकिन्छ है । उत्तम आदेश ठोक्छन् । किन ? प्रश्नको उत्तर भन्डारेघाट पुगेपछि पाइयो । त्यहाँ दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र नेपाली काँग्रेसका युवा नेता अमृत गिरी हामीलाई कुरी रहेका रहेछन् ।
गाउँपालिका अधयक्षको गाडी देखेपछि गाडीभित्र भुपेन्द्र सरकार की जय भन्ने रेला गर्दा दमन राईले हैट । भनेर हाँस्छन् । गाडी रोकिन्छ । अध्यक्ष र अमृत जीसँग भलाकुसारी चल्छ । यस्तैमा एक भाँडा कपडा धुने आरीमा उसिनेको अण्डा आउँछ । सबैले अनिवार्य एक दाना उठाउनै प¥यो । तर, सक्नेले चार दानासम्म तोडेको पनि हेरियो । त्यही रोलकल गर्छन् उत्तम खाना रसुवामा हुने छ ।
गाउँपालिकाको गाडीमा खाली सिट छ भन्ने सुइको पाएका दमन र केदार स्कार्पियोमा हतार हतार छिरेर सिट कब्जा गर्छन् । अरु सबै उही जिपमा । स्कार्पियो अगाडि लाग्छ । जिप पछ्याउँछ । रसुवामा हामीभन्दा निकै अगाडि पुगेका साथीहरु खाना खानेठाउँमा हात पखालेर बसी सकेका छन् । भोक त सबैलाई उस्तै लाग्दो हो । तर, होटलमा बस्ने ठाउँ छैन । नेताहरुसँग गफ गाफ हुने नै भयो । रसुवाघाट-कालापानी लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष कर्णबहादुर राउत ताउर माउर गरिरहेका छन् । उनले सबैसँग भलाकुसारी नि गर्दै छन् ।
पहिले रसुवाघाट पुल पारीपट्टी (उदयपुरतर्फ) मात्र बजार जस्तो बसेको थियो । तर, अहिले फोक्सिङटारबाट गाडी तर्ने भएपछि पारीको बजार वारी सरेछ । घरहरु आरसिसी पनि बेछन् । सानो बजारबाट चोइटिएको कान्छी बजार जस्तो ।
खाना खानेहरुको हुल राम्रै भइएछ । खाना खाने हतारोले तीन चोटी हात धोए पनि खाने पालो नपर्नेहरु पनि त्यही थिए । खाना किन ढिलो भन्ने जिज्ञासा हुने नै भयो । होटल की साहुनीले पोल खोलिन् । ‘१५ जनालाई खानाको अडर दिएको हो । २० जनाले खाइसक्नु भो । त्यसैले पकाउनु पर्ने भो ।’ मन मनै हैट व्यवस्थापन भन्ने झोँक नचलेको त कहाँ हो र ? भनि हाल्न मन लागेन । तर, उत्तमले अध्यक्ष कर्णबहादुर राउतलाई झण्डै हप्काएको शैलीमा ‘के हो यस्तो’ भन्न भ्याए ।
बाटामा रसुवामा माछा खाने गफ थियो । त्यहाँ गएपछि माछा सुँघ्नसम्म उत्तम र मैले भ्यायौँ । अरुले कुखुराको तीन पिसमा चित्त बुझाएछन् । जो अगाडि भान्सा बसेका थिए । हामीपछि बसेकाले भने कुखुरा सुँघ्न पाएनन् ।
यसो यसै ढिला हुन लागेको थियो । हामी जुन कामका लागि गएका थियौँ । त्यसको शुरुवात त्यही नजिकै थियो तर, सुनकोशीबाट १८०० मिटरमाथिको उचाइमा थियो गाउँ । हामीले लिफ्टिङ गरिएको ठाउँमा जाने भयौँ । गइयो । हेरियो । जमिनको सतहबाट पायक झण्डै ६८ मिटर तल गाडिएको रहेछ । यसबाट पानी पहिलो पटक तानेर अलिमाथि जङ्गलमा भएको दश हजार लिटरको ट्याङ्कीमा रिजर्भ गरिदो रहेछ । त्यसपछि त्यो पानीलाई मोटरको सहयोगमा फेरि अर्को दश हजार लिटरको ट्याङ्कीमा फालिदो रहेछ । यसपछि मात्र बल्ल कालापानी पुग्दो रहेछ पानी ।
कालापानी गाउँको सिरानमा फाँटिलो जग्गामा ३५ हजार लिटर क्षमताको ट्याङ्कीमा पानी जम्मा भएपछि बल्ल त्यहँबाट वितरण हुने व्यवस्था रहेछ । त्यहाँ पानीको अभावको कथा निकै दर्दनाक सुनिएको थियो । ‘नानीको पेवा पानी’ शीर्षकमा कथा हाल्नेहरु थिए ।
सुनकोशीको पानीको मुहान हेरी सकेपछि टोली लाग्यो उकालो । अलि अलि गर्मी भएको महसुस भएपछि एकजना साथीको मोटरबाइकमा आफू बसेर साथीहरुलाई गाडि छाडेको कालापानी पुगेपछि पो थाहा भो पहाडको उकालोमा कच्ची सडकको धुलो । ज्याकेटको बिजोग ।
कथा कालापानीको – १
Halesi Khabar
0
Shares
तपाईको प्रतिक्रिया
- १. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- २. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
- ३. हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
- ४. अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति
- ५. मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी
- ६. एमालेको श्रम शिविर अभियान : तृतीयाभञ्ज्याङ–छितापोखरी सडक मर्मतको काम शुरु