हलेसी खबर
खोटाङ, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दहाल–नेपाल समुहले खोटाङबाट प्रधानमन्त्रीलाई ठाडो विरोध पत्र पठाएका छन् । नेकपा जिल्ला अध्यक्ष पृथ्वि किरातीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरेर विरोध पत्र बुझाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलिले पुस ५ गते असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै राष्ट्रका सामु क्षमायाचाना गर्न समेत विरोध पत्रमा उल्लेख छ । संसद विघटनको घटना नेपालको संविधान २०७२ को ठाडो उलंघन भएको भन्दै गैर संवैधानिक, अलोकतान्त्रिक एवंम स्वेच्छाचारी ढँगबाट भएको विरोध पत्रमा उल्लेख छ ।
जनताको ठुलो बलिदानी पुर्ण संघर्षबाट प्राप्त ऐतिहासिक राजनैतिक परिर्वतन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षागर्न आफुहरु प्रतिवद्ध रहेको पत्रमा लेखिएको छ । अहिले भईरहेको असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षडयन्त्रलाई असफल बनाउन जस्तो सुकै संघर्ष गर्न समेत सक्षम रहेको चेतावनी समेत विरोध पत्रमा दिईएको छ ।
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेको भन्दै टोलिले एक थान संविधान समेत प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत प्रधानमन्त्रीलाई पठाएको छ । पत्रको शुरुमै ‘तँपाईले २०७७ पुस ५ गते नेपालको संविधानको ठाडो उलंघन गरेको … ।’ बाट विषय वस्तु उठाईएको विरोध पत्रमा पृथ्वि किरातीको हस्ताक्षर रहेको छ ।