हलेसी खबर
खोटाङ, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको खोटाङ अध्यक्षमा राम प्रसाद दंगाललाई छनौट भएका छन् । नेकपाका अध्यक्ष देवान किराती पृथ्वी लगायतका नेताहरुले नेकपा दाहाल – नेपाल समुहमा लागेपछि दंगाल जिल्ला अध्यक्ष बनेका हुन् ।
जिल्ला समन्वय समितिको बैठक हलमा आईतबार पत्रकार सम्मेलन गर्दै नेकपा ओलि समुहले दिप नारायण रिजाल, सुरेन्द्र कुमार राई, गृहबहादुर राई, चर्चबहादुर विस्वकर्मा र विणादेवि राई रहेको ६ सदस्यि कार्यालय टिम गठन गरेको जानकारी दिएको छ । यस्तै पार्टीको भनिएको तेश्रो पुर्ण बैठकले विभिन्न निर्णयहरु गर्दै प्रधानमन्त्री ओलीको कदमलाई स्विाकार्य भएको जनाएको छ ।
सरकारको असफलतमा आफ्नो सफलता देख्ने आत्मघाती बाटोमा लागेका कारण भारी मनका साथ बाध्य भएर गरिएको प्रतिनिधी सभा विघटनको कदमलाई स्विकारीएको विज्ञप्तीमा उल्लेख छ । सम्मेलनमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराई, केन्द्रिय सदस्यहरु देव विक्रम राई, देवान राई लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
पछिल्लो नेकपामा दाहाल नेपाल खेमामा पुस १३ गते राती सम्म खुलेर लागेका दंगाल एक्कासी १४ गते काठमाडौं पुगेका ओलि समुहमा देखा परेका थिए । उनलाई ओलि समुहबाट राम्रै प्रस्ताव आएकाले रातारात गायब भएको आरोप लागेको थियो । उनिसँगै संविधान सभा सदस्य तथा नेकपा नेता पाँचकर्ण राई (पिके) र दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि सचिव गोपाल आचार्य पनि राता रात काठमाडौँ पुगरे दाहाल–नेपाल समुह छाडेर ओलि समुहमा छिरेका थिए ।
गएको पुस ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलिले प्रतिनिधी सभा विघटन गरेपछि विभाजित भएको नेकपा खोटाङमा शुरुमा दिप नारायण रिजाललाई अध्यक्ष र सुरेन्द्र कुमार राईलाई सचिव बनाउने आन्तरिक सहमती भएको एक नेताले बताएका थिए । पछिल्लो समय दंगाल ओली खेमामा पुगेपछि रिजालको अध्यक्षको पद धराप भएको श्रोतले जनाएको छ । श्रोतका अनुसार पुस २५ र २६ गते बसेको बैठकमा यस विषयमा निकै लामो छलफल भएको थियो । अन्तत जिल्ला अधिवेशन सम्मका लागि भएपनि दंगालले अध्यक्ष नछाड्ने भएपछि रिजाल पछि हटेको बताईएको छ । जिल्ला अधिवेशन पछि भने रिजाललाई अध्यक्ष बनाईने सहमती भएको श्रोतले खुलाएको छ ।