आफूले चिताएको काम पूरा भएपछि हलेसीमा सुनको सिक्री

Halesi Khabar
0 Shares

खोटाङ, २७ पुस । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले खोटाङको त्रिधार्मिकस्थल हलेसी महादेवको नाममा सुनको सिक्री चढाउनुभएको छ । त्रिनपा वडा नम्बर–१४ साउनेमा रहेको साउने स्वास्थ्यचौकीमा कार्यरत अनमी राईले सोमबार हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी दर्शन गरी भाकल गरेअनुसार एक तोला चार आनाको सुनको सिक्री चढाउनुभएको हो ।

लोकसेवा आयोग पास गरें भने सुनको सिक्री चढाउँछु भनेर छ वर्षअघि हलेसी आएर भाकल गर्नुभएकी राईले जागिर खाएको छ वर्षपछि सुनको सिक्री चढाउनुभएको जनाइएको छ । “विविध कारणले समयमै भाकल पूरा गर्न असमर्थ रहें”, प्रभाले भन्नुभयो, “२०७६ चैतमा भाकल पूरा गर्न न हलेसी आउने योजना बनाएकी थिएँ । कोरोना महामारीले सम्भव भएन । ढिलै भए पनि भाकल पूरा गर्दा मन हल्का भएको छ ।”

प्रभाले हलेसी महादेवको नाममा चढाएको सुनको सिक्री हलेसी महादेवस्थान विकास समिति प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पुजारी गोपाल गिरी र हलेसी महादेव मन्दिर व्यवस्थापन समिति प्रतिनिधि हर्कराज राईले कागज गरेर जिम्मा लिनुभएको छ । दर्शनार्थीले विभिन्न समयमा चढाएका सुन तथा चाँदी हलेसीकै आम्दानी कोषमा जम्मा गरेर चाडबाड विशेषमा महादेवलाई पहि¥याउने गरिएको छ ।

भाकल पूरा गर्न हलेसी आउनुभएकी प्रभाले दर्शनपछि दुवै मिर्गौला काम नलाग्ने अवस्थामा रहनुभएकी आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उहाँले सरकारी जागिरमात्रै होइन, सन्तान सुखको कामना गर्दै हलेसी महादेवसँग वर माग्नुभएको छ ।

यसअघि वि.सं. २०७६ साल कातिक १७ गते सिद्धिचरण नगरपालिका–१२ ओखलढुङ्गाका चक्रबहादुर राईले एक तोला सुन चढाउनुभएको थियो । कोरिया जानुअघि छोरा अशोकले हलेसीमा सुन चढाउने भाकल गरेको र सो भाकल पूरा भएको भन्दै राईले बैद्धिक विधि अनुसार पुजाआजा गर्दै एक तोला सुन चढाउनुभएको हो ।

कोरिया जानुअघि भाकल गरेका अशोकले केही समयअघि कोरिया पुगेर पहिलो महिनाको तलब पठाएपछि एक तोला सुन खरिद गरेर भाकल पूरा गरेको राई परिवारले बताएका थिए । वर्षमा चार पटक ठूलो मेला लाग्ने त्रिधार्मिकस्थल हलेसीमा कोरोना महामारीको जोखिम केही कम भएसँगै दर्शनार्थी तथा भक्तजनको भीड लाग्न थालेको छ ।

तपाईको प्रतिक्रिया