काठमाडौँ, ४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्तिविरुद्ध अब शाकाहारी आन्दोलनले काम नचल्ने बताउनुभयो । अनेरास्ववियूको उपत्यका भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा आफू टाउको फुटाउन तयार रहेको भन्नुहुँदै अबको आन्दोलन शाकाहारी नभइ आवेगपूर्ण र आक्रामक हुनुपर्नेमा जोड दिनुभयो ।
सडकमा आक्रामक रुपमा आउन युवाहरुलाई आह्वान गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफू युवाहरुको आन्दोलनमा अग्रभागमा रहेर रगत बगाउन तयार रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीका लागि जेपनि गर्न तयार रहेकाले अबको आन्दोलन आक्रामक हुनुपर्ने उहाँको भनाइ छ ।