काठमाडौँ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम स्पष्टिकरण सोधिएको बताउनुभयो । अखिल नेपाल महिला सङ्घ (अनेम) को कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले पार्टी एकतालाई कायम राख्ने प्रयास स्वरुप नेताहरुले ओलीलाई सुधार्ने अभियान अन्तरगत अन्तिम मौका दिएको दाबी गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफूले ओलीलाई धेरै पहिलेदेखि चिनेको र ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताउनुभयो । तर, केही साथीहरु ओलीलाई सुधार्न लागेको उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले चिहानमा पुर्याएको लास बाँच्ने आश गर्नु र ओली सुध्रिनु एउटै भएको बताउनुभयो । उहाँले अहिले कम्युनिष्ट आन्दोलन सङ्कटमा परेको र आफूहरु अहिले परीक्षाको घडिमा रहेको पनि बताउनुभएको छ ।
अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा ओलीले कम्युनिष्ट सिध्याउन लागेको भन्दै आफूहरुले यसलाई जोगाएर अगाडि बढाउने चुनौतीको सामना गरिरहेको बताउनुभयो । अहिलेको राजनीतिक पस्थितिमा नेकपा र ओलीको विषयमा मानिसको मनमा धेरै कुरा खेलिरहेको बताउनुभयो ।
उहाँले ओलीको निरङ्कुश रबैयाले विधि, विधान, पद्धति सबै मिचिँदा मानिस छक्क परेको पनि बताउनुभयो । पार्टी चलाउन विधि, विधान र पद्धति सबै आवश्यक रहेको अध्यक्ष नेपालको जिकिर छ ।