जन्तेढुङ्गामा ज्येष्ठ नागरिकलाई घरैमा पुगेर स्वास्थ्य परामर्श

Halesi Khabar
0 Shares

खोटाङ, ५ माघ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई उनीहरुको घरैमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन थालेको हो ।

वडा नम्बर–४ डम्बर्खुशिवालयबाट शुरु गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा संयोजक पवन पोखरेलले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्यका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्था गर्न गाउँपालिकाको तर्फबाट कार्यक्रम शुरु गरिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले जानकारी दिनुभएको छ ।

ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्न सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख शंकरबहादुर राईले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएर अघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः सबै वडामा बिस्तार गरिने छ”, उहाँले भन्नुभयो, “अभियानका क्रममा गाउँपालिकाभित्रका दीर्घ रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउन उनीहरुको तथ्याङ्क सङ्कलनको कामसमेत भइरहेको छ ।”

गाउँपालिकाले आफ्नो घरैमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि जेष्ठ नागरिक हर्षित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका स्थानीय बासिन्दा यसअघिसम्म घण्टौँ पैदल हिँडेर चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका थिए ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दा स्वास्थ्य जाँच गराउनकै लागि छिमेकी जिल्ला उदयपुरको गाईघाट धाउनुपर्ने बाध्यता छ । राष्ट्रिय सडक सञ्जालको पहुँचसमेत नपुगेको उक्त गाउँपालिकामा पछिल्लो समय हिउँदको समयमा भने यातायात सञ्चालन हुन थालेको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि जेष्ठ नागरिक तथा गर्भवतीका लागि विशेष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्भवतीका लागि आइरन घरैमा चक्की उपलब्ध गराउनुका साथै यातायात भाडामा छुट दिँदै आएको छ ।

हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले गर्भवतीको निःशुल्क गर्भ जाँच गर्न ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको छ । उक्त दुई स्थानीय तहले स्थानीय स्वास्थ्य संस्थामै गर्भ जाँच गर्ने सुविधा बिस्तार गर्न वनहर्ट वल्डवाईडको सहकार्यमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको हो ।

 

तपाईको प्रतिक्रिया