अहिले तानातान पछि हानाहानको अवस्थामा देश

Halesi Khabar
0 Shares

–भीम राई
अहिले देशभर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईवटा समूहको व्यापक चर्चा छ । पार्टी जीवनमा देखिएका आन्तरिक सङ्घर्षलाई दोष दिँदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुईवटा खेमामा विभाजित भएको नेकपाको एक समूहले अर्को समूहलाई खुइल्याउने क्रम जारी छ ।

एकपक्षीय नेता कार्यकर्ताहरुले अर्कापक्षीय नेता कार्यकर्ताहरुलाई कटाक्ष गरिरहेका छन् । उनीहरुले आफूलाई सहि सावित गराउन निकै ननिको लाग्ने गाली गलौजमा उत्रिएको देख्दा ‘… लाई भन्दा देख्नेलाई लाज’ भने जस्तै भएको छ । एकले अर्काको अनुहारमा हिलो छ्यापेर आफूलाई रुपाइलो भएको घमण्ड गरिनु कदापि, ठीक हैन ।

हिजो मिलीभगतमा भए गरेका काम कुराहरु आज फरक बाटो हिँड्दैमा सबै खराब हुँदैनन् । नेपालमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच भएको एकताले सार्थकता पाएन । यसलाई मानौँ । तर, एकता पछिको कामहरुको छातीमा हात राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।

नेताहरुमा विभाजित मनस्थितिको अवस्था आउन पूर्व सतहमा भएका निर्णयहरुलाई स्मरण गर्न सक्नुपर्दछ । एकताको जगमा उभिदै गर्दा देखिएका विकराल समस्याहरुलाई हल गर्दै बनेका सहमती र समझदारीका बुँदाहरुलाई एकपटक स्मरण गर्नै पर्दछ । इतिहासमा केही गलत कामहरु भएका भए जनताको अगाडि आलोचित हुनुपर्ने र यसलाई शिक्षाको रुपमा ग्रहण गरेर आगामी निर्णयहरु गर्नु आजको ऐतिहासिक जिम्मेवारी हो ।

राजनीतिमा विमतीहरु हुन्छन् । बिमतीहरुबीच सहमती खोजिनु पर्दछ । राजनीतिक नेतृत्वका लहलहैमा भन्दा बढी कार्यकर्ताको तहले ठीक बेठिक छुट्टयाउने हिम्मत गर्नु पर्दछ । सहिलाई सहि र गलतलाई गलत भन्ने प्रणालीको विकास गर्न नसक्दा अहिले केही थान नेताहरु नै पनि अलमलमा परेका छन् ।

जनता यसैपनि अलमलिनु पर्ने नै भयो । तर, यस्तो बेला यर्थाथ कुरालाई जनताको सामु लैजाने र उनीहरुलाई घटना विवरण मात्र भनिदिने हो भने सहि र गलत छुट्टयाउन सक्ने जनताको चेतनास्तर छ । यस्तो बेला राजनीतिक स्वार्थका आधारमा विश्लेषण भन्दा यर्थाथताको धरातलमा उभिन सकेमा नेतृत्व सहि र आशा लाग्दो देखिन्छ । हुल हुनु र नहुनुले आखिर केहि दिदैन । तर, सहि विचार दृष्टिकोण भएमा त्यसले नेतृत्वलाई अवश्यक स्थापित गर्दछ ।

अहिले देखिएको चित्र र चरित्रहरुलाई हेर्दा देशको राजनीतिक अवस्था अस्थिरतातर्फ धकेलिएको छ । जबर्जस्त धकेलिएको अस्थिरतामा मुलुक नराम्रो गरेर फस्नेवाला छ । सिमित नेतृत्वको दम्भ र अविवेकी निर्णयका आधारमा रचना भएको यो दुर्घटनाले प्राप्त उपलब्धीहरु गुम्न सक्ने अवस्थाको सिर्जना भएका छन् ।

देशको कार्यकारी नेतृत्वले आफ्नो पद र प्रतिष्ठामा असहज वातावरण निर्माण भएको आंकलनमा देशको जनताको साझा आवाज बुलन्द गर्ने थलोको अवसान गराउने प्रयास गर्नु दुर्भाग्य हो । केहि थान असमझदारीका बीचमा भएको यो घटना मुलुकका लागि ऐतिहासिक दुःखद क्षणका रुपमा चित्रण हुने अवस्था अहिले सिर्जना भइरहेका छन् ।

देशको कार्यकारीले गरेको निर्णयको पक्षमा केहि सिमित समूहहरु मात्र देखिनु र विपक्षीमा सारा राजनीतिक दल, उद्योगी, व्यापारी, कर्मचारी प्रशासनका आधिकारिक ट्रेड युनियन, पेशागत सङ्घसङ्गठन तथा नागरिक समाजका प्रवुद्ध व्यक्तिहरु लाग्नुको पछाडि यो सहि थिएन भन्ने निष्कर्श तर्फ जानु पर्दछ । अहिले ‘आए आँप गए झटारो’ को मनोकाङ्क्षाले भएको एक व्यक्तिको निर्णयले देशलाई दुःख दिइरहेको अवस्था हो ।

जसले गर्दा मुलुकको स्थिर शासनको परिकल्पना गरिएको ती दिनको सम्झना मात्र गराउने भएको छ । हिजो सङ्क्रमण कालिन राजनीतिक अवस्था खेप्दै आएका नेपाली जनताले थप राजनैतिक सङ्क्रमणकालको आशा गरेका छैनन् । उनीहरु दिगो विकासका लागि स्थिर शासनको पक्षमा रहेका छन् । तर, बाजाको ताल यसरी बजिरहेको छैन । असारमा मादल बजाएर बसेको जस्तो अवस्थाबाट देशलाई लैजानु खोज्नु दुर्भाग्य हो ।

यसबीचमा अस्थिरतालाई रुचाउने र नरुचाउने बिचको सङ्घर्षको शुरुवात भएको छ । अस्थिरता चाहाने तत्वहरु चाहे दक्षिणतिरका हौउन, चाहे उत्तर तिरका जो कोहिका लागि पनि यो सुनौलो अवसरको सिर्जना गरिएको छ । यस बीचमा देखिएका कानूनी जटिलताकाको कुरा निर्णय गर्ने निकायले निकास देलान् । तर, निकास त्यति सजिलो निस्कने अवस्था भने देखिएको छैन ।

अहिले विवादित विषयमा लामो छलफल र बहस चलिरहेको छ । यसपछि त्यो निकायले अवस्य एउटा निकास देला । तर, त्यसपछिको अवस्थामा भने निकै जटिल छ । अहिले कार्यकर्ता तानातानको अवस्था रहेका नेतृत्वले त्यसबेला हानहानको अवस्था सिर्जना गराउने छन् । कसैको पक्षमा निर्णय आएपनि अवस्था त्यति सहज हिसाबले सामान्यीकरण हुने छाँट देखिएको छैन ।

प्रतिनिधि सभा पुनः स्थापना भएपनि अस्थिरता केहि समय रहने नै भयो । निर्वाचन नै हुने भएपनि थप जटिलता बढ्ने नै देखियो । यसको सम्पूर्ण जिम्मेवार भनेको वर्तमान सत्ता सञ्चालन गर्ने अख्तियार प्राप्त राजनीतिक पार्टी र यसका बढी महत्वाकांक्षी नेतृत्व नै हुन ।

‘शासकको सन्कीले जनताले दुख पाउँछन्’ भन्ने इतिहास जानेका हामीहरु भने उनीहरुको पछाडि धारेहात लगाउने भन्दा बढी अभिवादनको मुठी उठाइरहेका छौँ । अब हामी देश कता जाँदै गरेको हेर्न चाहिरहेका छौँ त ?

तपाईको प्रतिक्रिया