काठमाडौँ, ७ माघ । भारतले नेपाललाई अनुदानमा दिएको खोप ल्याउने प्रक्रिया सुरू भएको छ । भारतले आजदेखि नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’आपूर्ति गर्न आजदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ । भारतस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’
औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो ।
नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरूमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीलगायतलाई यसको डोज दिने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप प्राप्त भएपश्चात् एक साताभित्र लगाइने बताएका छन । उहाँले भन्नुभयो, ‘खोप प्राप्त भएको एक साताभित्र लगाउँछौं । खोप लगाउँदा कसैलाई साइड इफेक्ट देखिए सरकारले उपचार गर्छ ।’
नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारको योजना छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसंख्या रहेको र उनीहरूलाई खोप लगाइनेछैन ।
सरकारले खोप ल्याउन ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोनाविरुद्धको खोप भण्डारणका लागि सरकारले सबै तयारी पूरा भएको जनाएको छ ।