काठमाडौँ, ८ माघ । मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी बाइडेनले अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्नुभएको छ ।
नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले बिहीबार बाइडेनलाई पठाउनुभएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ । उन्नत एवम् बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति बाइडेनको कार्यकालमा अझ विस्तृत एवम् घनीभूत हुने विश्वास व्यक्त गर्दै उहाँले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि व्यक्त गर्नुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले बुधबार औपचारिक रुपमा आफ्नो कार्यकाल सम्हाल्नुभएको हो ।
यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकामा प्रशंसा गर्नुभएको छ ।
लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गर्नुभएको छ ।