काठमाडौँ, ९ माघ । सत्तारुढ नेकपामा राजनीतिक विभाजन आएपछि अहिले प्रदेश नम्बर १ र बागमतीको सत्ता सङ्कटमा परेको छ । नेकपाकै ओली समूहको मुख्यमन्त्री रहेका प्रदेशमा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याएपछि सत्ता सङ्कटमा परेको हो ।
ती प्रदेशमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस अविश्वासको प्रस्तावको निर्णायक शक्तिका रुपमा रहेको छ । उसले जुन समूहलाई समर्थन गर्छ, सोही समूहको जित हुने अवस्थामा काँग्रेसको समर्थन कसलाई भन्ने विषयमा काँग्रेसभित्रै विवाद देखिएको छ ।
सभापति शेर बहादुर देउवाको निवास बुढानीलकण्ठमा आज भएको केन्द्रीय पदाधिकारी र बागमती प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सभापति र अन्य नेताको मत बाझिएको हो । देउवाले जुन समूहले मुख्यमन्त्री दिन्छ, सोही समूहसँग मिल्ने प्रस्ताव राखेका छन् ।
तर, नेताहरुले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा रहेको अवस्थामा प्रदेशमा उनैसँग मिल्न नहुने मत राखेका छन् । प्रदेशमा मिल्दा भोलि जनतामा जान समस्या हुने उनीहरुले बताएका छन् ।
प्रचण्ड–माधव समूहले पनि मुख्यमन्त्रीकै प्रस्ताव ल्याएकाले उनीहरुसँग मिलेर सरकार बनाउन देउवालाई रामचन्द्र पौडेल, नविन्द्रराज जोशी, गगन थापालगायतले सुझाव दिएका छन् । तर, देउवा भने प्रदेश १ मा शेरधन राईलाई समर्थन गरेर बागमतीमा आफ्नो सरकार बनाउने दाउमा छन् ।