खोटाङ, ११ माघ । बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्नका लागि साकेला गाउँपालिकाले लाभग्राहीको खाता खोल्न घुम्ती शिविर सञ्चालन गरेको छ । कर्मचारीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा हुँदै आएको चुहावट नियन्त्रण वडा नम्बर–१ बाँझेच्यानडाँडाका लाभग्राहीको खाता खोल्न शिविर सञ्चालन गरिएको हो ।
चुस्त र पारदर्शी तरिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्थाका लागि गाउँपालिका र नेपाल एसविआई बैंकको शाखा कार्यालयको सहकार्यमा वडामै पुगेर लाभग्राहीको खाता खोलिएको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । भौगोलिक रुपमा टाढा भएकाले र अशक्तलाई खाता खोल्नका लागि गाउँपालिकाको केन्द्रसम्म पुग्न सकस हुने भएकाले लाभग्राहीको खाता खोल्न शिविर सञ्चालन गरिएको हो ।
बाँझेच्यानडाँडा र बाँझेच्यानडाँडाकै डाँडागाउँमा सञ्चालन गरिएको घुम्ती शिविरमा २०० बढी लाभग्राहीको खाता खोलिएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो । पाँच वडा रहेको गाउँपालिकाका अन्य वडाका लाभग्राहीले भने नेपाल एसविआई बैंकको शाखा कार्यालयमा आएर खाता खोलिरहेका छन् ।
बैंकमा पुगेर खाता खोल्न नसक्ने अशक्त लाभग्राहीको भने तथ्यांक संकलन गरेर सम्वन्धित वडामै पुगेर खाता खोल्न सहयोग गरिने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७६र०७७ मा मात्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षाभत्ता चुहावट भएको प्रतिबेदन सार्वजनिक भएको केही समयपछि साकेला गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता भुक्तानी दिने तयारी थालेको हो ।
चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि लाभग्राहीको खाता खोल्ने अभियान तीव्र पारिएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो । गाउँपालिकामा हाल करीब एक हजार ५०० सामाजिक सुरक्षाभत्ता बुझ्ने लाभग्राही छन् ।