काठमाडौँ, ११ माघ । सरकारले आगामी वैशाख १७ र २७ मा निर्वाचन घोषणा गरेसँगै तयारी शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधि सभालाई विघटन गरी नयाँ निर्वाचन घोषणा गर्नुभएको थियो ।
निर्वाचन तयारीस्वरुप माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । यसैबीचमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपाको मातहतका कमिटीहरुलाई निर्वाचन सम्बन्धमा विशेष परिपत्र गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आगामी चुनावका लागि तयार हुने घोषणापत्रमा समावेश गर्नुपर्ने कुराहरु र मतदाता नामावलीको अद्यावधिकका क्रममा भएका त्रुटीहरु सच्याउन तथा उजुरी गरी नामावली रुजु गराउन निर्देशन दिनुभएको छ ।