प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाटै हटाउने प्रचण्ड–माधव समूहको निर्णय

Halesi Khabar
0 Shares

काठमाडौँ, ११ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ । प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको उपस्थितिमा पेरिसडाँडामा बसेको बैठकले पार्टी अनुशासन पालना नगरेको भन्दै अर्का अध्यक्ष ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।

स्थायी समितिको बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनोनित गरेको छ । अर्का उपसचिव छिट्टै थपिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

स्थायी समिति बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सिङ्गो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको प्रचण्ड–माधव समूहको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष र वरिष्ठ नेताहरुले संयुक्त सङ्घर्षका लागि भइरहेको पहलबारे ब्रिफिङ गरेका थिए । संयुक्त सङ्घर्षका लागि पहल जारी राख्ने र एक अर्काले चलाएको आन्दोलनलाई पूरकका रुपमा अगाडि बढाउने निर्णय भएको छ ।

भोलि नै सङ्घर्ष समितिमार्फत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ । सत्तारुढ दल नेकपामा विभाजनसम्मको विवाद आएपछि देशले कुन मोड लिने भन्नेमा सर्वसाधारण चिन्तित छन् ।

 

तपाईको प्रतिक्रिया