एक हजार ६१८ जनालाई कोभिडविरुद्धको खोप दिइने

Halesi Khabar
0 Shares

खोटाङ, १३ माघ । पहिलो चरणमा खोटाङका एक हजार ६१८ जनालाई कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विरुद्धको खोप दिने तयारी गरिएको छ । कोभिड–१९ को सङ्क्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्देश्यले पहिलो चरणमा कोभिड रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वस्थ्य स्वयम् सेविका, एम्बुलेन्स तथा शव बाहन चालक, सरसफाइमा संलग्न व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको हो ।

कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको समन्वय र अनुगमन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा सोमबार जिल्ला अस्पताल खोटाङमा बसेको बैठकले माघ १५ गतेदेखि २० गतेसम्म कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ । कोभिड–१९ विरुद्धको खोप बुधबार आइपुग्ने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङको प्रमुख आतिथ्यतामा भएको बैठकले जिल्ला अस्पतालका मेडिकल अधिकृतको नेतृत्वमा एइएफआई टिम गठन गर्ने, एइएफआई टिम व्यवस्थापन गर्ने, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देललाई कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन प्रवक्ता तोक्ने लगायतका निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म ६६ जनामा सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमित सबैजना उपचारपछि घर फर्कीसकेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षकलाई समेत देखिएको थियो ।

सङ्क्रमण देखिएका अधिकांश व्यक्ति बाहिरी जिल्लाबाट भित्रिएकाहरु रहेका थिए । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका तथा बढी जनसम्पर्कमा रहेका व्यक्तिमा कोरोना परीक्षण गर्ने गरिएको थियो ।

तपाईको प्रतिक्रिया