काठमाडौँ, १३ माघ । सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको नाम पनि नलिन चेतावनी दिनुभएको छ । प्रचण्ड–माधव समूहले सोमबार ताप्लेजुङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले चेतावनी दिनुभएको हो ।
नेकपाको केन्द्रीय कमिटीको दुईतिहाई बहुमतले ओलीलाई अध्यक्षबाट हटाएकोले अब ओलीले नेकपाको नाम लिइरहन नपाउने नेपालले बताउनुभयो । निर्वाचन आयोगले के मान्छ भन्दापनि आफूहरुको निर्णयले आधिकारिकता राख्ने नेपालको दावी छ ।
नेपालले अब ओली एउटा सानो झुण्डको, गुटको नेता भएको भन्दै नेकपाको नाम पनि लिन नपाउने बताउनुभयो । नेपालले भन्नुभयो, ‘नेकपा र सूर्य पाउने आशा नगरे हुन्छ, बयलगाढा लिएर चुनावमा जानुस् ।’